
काठमाडौं । निर्वाचन आयोगको यहि मंसिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन उपनिर्वाचन हुने स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक विदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।
आयोगको आज मंसिर ९ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिक स्थलहरू निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन गर्ने निर्णय गरेको छ ।
यस्तै आयोगले मंसिर १६ गते आइतबार मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक विदा दिने व्यवस्था मिलाउन नेपाल सरकार, संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।
आयोगले मंसिर १६ गते आइतबारका दिन उपनिर्वाचन हुने स्थानीय तहका मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको छ । मंसिर १६ गते ४१ स्थानीय तहमा उपनिार्वचन हुँदैछ । कुल ४४ स्थान मध्ये ३ स्थानमा भने उम्मेदवार निर्विरोध भएका छन् ।