
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ हुने उपनिर्वाचनमा मतदाताहरुलाई मतदान गर्ने सहज वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरेको छ ।
आयोगको आज मंसिर ११ गते बसेको बैठकले मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहका सम्बन्धित वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार, प्रदेश सरकारको स्वामित्व, अनुदान र नियन्त्रणमा सञ्चालित निकायहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूलाई मतदानका दिन विशेष विदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउने निर्णय भएको आयोगका प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिनु भएको छ ।
यसैगरी आयोगको मंसिर ९ गतेको बैठकबाट मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक विदा दिने व्यवस्था मिलाउन एवम् उपनिर्वाचन हुने स्थानीय तहका मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानहरूलाई आह्वान गरिसकिएको पनि जनाएको छ ।
साथै उपनिर्वाचनमा सबै मतदाताहरूलाई मतदान गर्ने अवसर प्राप्त हुने विश्वासकासाथ आयोगले सम्पूर्ण मतदाताहरूलाई उपनिर्वाचनमा उत्साहजनक रूपमा सहभागी हुन आयोग अपिल समेत गरेको छ ।