
काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गर्नुभएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा जानु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरुले बिदाइ गरेका थिए ।
यस भ्रमणका क्रममा मन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुनेछ ।
चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उनी चीन गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्री राणा शनिबार नेपाल फर्कने कार्यतालिका रहेको छ ।