
काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले संगठनको संस्थागत निर्णयविरुद्ध विद्रोही उम्मेदवार बनेको भन्दै १३ जनालाई तत्काल उम्मेदवारी फिर्ता गरेर आधिकारिक उम्मेदवारको पक्षमा लाग्न निर्देशन दिएको छ ।
प्रेस युनियनको केन्द्रीय सचिवालय तथा अनुशासन समितिको आज बसेको बैठकले प्रेस युनियन र प्रेस चौतारीबीच भएको सहमति अनुसार युनियनले गरेको संस्थागत निर्णय विरुद्ध उम्मेदवारी दिएका १३ जनालाई फिर्ता लिन निर्देशन दिँदै फिर्ता नगर्नेहरुलाई आजका मिति देखि चार वर्षका लागि साधारण सदस्यबाट समेत नरहने गरि कारबाही गर्ने निर्णय समेत गरेको छ ।
युनियनले चौतारी र युनियनबीचको सहमति अनुसार केन्द्रमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुलाई यस्तो कारबाही गरिएको जनाएको छ ।
युनियनले अध्यक्षमा उम्मेदवार बनेका पत्रकार महासंघका निर्वतमान वरिष्ठ उपाध्यक्ष तथा प्रेस युनियनका सल्लाहकार रमेश विष्टसहित अन्य अन्य १२ जनालाई कारबाही गरेको छ । अनुशासन समितिका संयोजक प्रेम केसीले केहीबेर अघि सार्वजनिक गर्नुभएको विज्ञप्ति अनुसार विष्टसहित विकास कार्की,काठमाडौं,श्रीजन झा काठमाडौं,माधव दुलाल काभ्रेपलाञ्चोक,अमृत बास्तोला तेह्थुम,यदुनाथ बञ्जरा कास्की,मिन बम डोटी,राम धामी डडेल्धुरा,राजु बराल कपिलवस्तु मिनराज गौतम मकवानपुर,नारायण खड्का सुर्खेत र धुर्व रावल नुवाकोट रहेका छन् ।
यस्तै युनियनले प्रदेश र जिल्ला तहमा भने आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको रेकर्ड आएपछि उनीहरुलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । केही दिन अघि प्रेस युनियन र चौतारीबीचको सहमति अनुसार चौतारीबाट निर्मला शर्मा अध्यक्षको उम्मेदवार बनेपछि विष्टले असन्तुष्टि जनाउँदै प्रेस सेन्टर र समाजवादी प्रेस संगठनसहितका अन्य ६ वटा संगठनसँग गठबन्धन गरेर उम्मेदवारी दिएका छन् ।
विष्टसँगै उनी निकटका अन्य युनियनका सदस्यहरु पनि आधिकारिक उम्मेदवार विरुद्ध अर्को प्यानबाट उम्मेदवार बनेका छन् । महासंघको सबै तहको निर्वाचन पर्सी २८ मंसिरमा हुँदैछ । आज जिल्लाहरुमा उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको थियो ।