
काठमाडौं । मंसिर १६ गते सम्पन्न भएको उपनिर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको एमाले त्यसपछि केही झस्किको छ । पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने क्रममा पार्टीका नेता कार्यकर्तामा मनोबल कमजोर नबनोस् भनेर परिणाम राम्रो आएको अभिव्यक्ति दिएको उसले आन्तरिक तहमा भने परिणाम उत्साहजन नभएको निश्कर्षकासाथ मिसन ८४ मा त्यो छुट नभएको उल्लेख गरेको छ ।
पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशालाबाट यस्तो निश्कर्षकासाथ छ बुँदे सङ्कल्प घोषणा गर्दै सम्पन्न गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा च्यासल लतिपुरमा आइतबार सम्पन्न भएको कार्यशालाले गरेका सङ्कल्प हरुमा पहिलो चरणमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प रहेको छ । देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिसहित तीन सय जनाको सहभागितामा सम्पन्न भेलाले स्थानीय तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तारसँगै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ ।
यस्तै कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैत महिनाभित्रै विधिसम्मत र प्रक्रियासम्मत ढंगले सम्पन्न गर्ने सङ्कल्प गरेको छ । कार्यशालाले यसै वर्षभित्र सम्पूर्ण पार्टी सदस्यलाई अनलाइनमा ल्याउने सङ्कल्प पनि बैठकले गरेको छ । आगामी चैत महिनासम्म राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न कार्यशालाले पार्टी केन्द्रसँग आग्रह गरेको छ । कार्यशालाले पार्टी र नेतृत्वविरुद्धका षड्यन्त्र र कुप्रचारको प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प गरेको छ । शनिबार सुरु भएको कार्यशालामा पार्टीका सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव, संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसंगठनका केन्द्रीय अध्यक्ष÷महासचिव महानगर÷उपमहानगरकाका पार्टीबाट निर्वाचित प्रमुख÷उपप्रमुहरूको सहभागिता रहेको थियो । यसअघि कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुभएको थियो ।
यसैगरी पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव कमरेड शंकर पोखरेलले पनि कार्यशालालाई सम्बोधन सम्बोधन गर्नुभएको थियो । एमाले संगठन विभागले जारी गरेको विज्ञप्ति अनुसार कार्यशालाका सहभागीलाई १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । समूह छलफलमा प्रदेशका इन्चार्ज र संगठन विभागका सदस्यले सहजीकरण गरेका थिए । कार्यशालाको दोस्रो दिन समूहगत छलफलका प्रतिवेदन पेस गरिएका थिए । यस्तै कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न पार्टीपङ्तीर्तालाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टीपङ्ती परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टीको सङ्घर्ष, सफलता र हाल चीनको तीब्र आर्थिक विकासलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताउनुभयो ।
पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउँदै उहाँले कार्यशालामा सहभागी हरेक सदस्यले यसको सन्देश आम जनसमुदायमा सम्प्रेषण गर्न आग्रह गर्नुभयो । चिनियाँ कम्युनिट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिकरूपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ओलीले त्यहाँ पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध नगर्ने गरेको स्मरण गराउनुभयो । चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको जनाउनुभयो । पार्टीका नेताकार्यकर्ताले आजको माक्र्सवाद के हो र हाम्रो गन्तव्य के हो भन्ने बुझ्नुपर्ने बताउँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै हाम्रा गन्तव्य र नेपाली पाराको समाजवाद हो भन्नुभयो । यो गन्तव्यमा पुग्ने भौतिक तागत जनता हुन् र गन्तव्य पनि जनता केन्द्रित हो भन्ने कुरा जनतालाई सहमत गराउनु नै अहिलेको महत्वपूर्ण काम भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेकपा (एमाले) आफ्नै शक्तिमा भर पर्ने र भरपर्दो सहकार्य गर्ने पार्टी भएको बताउँदै आफ्नो शक्ति सुदृढ बनाउन सदस्यता विस्तार र जनतामा भिजेर आधार तयार गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो पार्टी केवल राजनीति गर्न जन्मेको होइन । समाजवाद र राष्ट्रवादको महान् उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको पार्टी हो । यसले सामाजिक परिस्थितिलाई उच्चतम रूप दिन सुरुवातदेखि नै लाग्दै आएको छ ।
जनताले सजिलोसँग खान, लाउन, बस्न पाउने तथा छोराछोरी पढाउन पाउने, बिरामी हुँदा उपचार गर्न पाउने आधारभूत आवश्यकताको परिपूर्ति तथा राजनीतिक अधिकार पाउनुपर्ने भन्ने उद्देश्यले कम्युनिष्ट पार्टीको स्थापना भएको चर्चा गर्दै उहाँले भन्नुभयो– राजनीतिक अधिकार प्राप्त भएको छ, अब स्थिरता र स्थायित्व कायम गरेर आर्थिक उत्पादन र समृद्धिमा लाग्नुपर्ने छ ।
इतिहासकालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा वाञ्छित उपलब्धि हासिल हुन नसकेको बताउँदै उहाँले विगतमा पार्टीभित्र बिमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखापर्दै आएको स्पष्ट गर्नुभयो । प्रतिक्रियावादीले कम्युनिष्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीति लिए पनि पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाउने र त्यसमा अडिग रहने इमान्दारिता नेता–कार्यकर्तामा आवश्यक हुने बताउनुभयो ।
कार्यशालाको घोषणा
१.यो राष्ट्रिय कार्यशाला निर्णयक राष्ट्रिय शक्ति निर्माणको लागि माघदेखि चैत्रसम्म तीन महिने “वडा केन्द्रित अभियान” सञ्चालन गर्ने सङ्कल्प गर्दछ ।
२.यो राष्ट्रिय कार्यशाला आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै “जनतासँग जनसंगठन अभियान” सञ्चालन गर्ने सङ्कल्प गर्दछ ।
३. यो कार्यशाला २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को फागुन – चैत्र महिनाभित्रै विधिसम्मत र प्रक्रियासम्मत ढङ्गले सम्पन्न गर्ने सङ्कल्प गर्दछ ।
४. यो कार्यशाला २०८१ भित्रै सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाईनमा ल्याउने सङ्कल्प गर्दछ ।
५. यो कार्यशाला २०८१ चैत्रसम्ममा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गर्दछ ।
६.यो कार्यशाला पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने सङ्कल्प गर्दछ ।