
गाउँपालिकाको प्रसशकिय भवनको उद्घाटन मन्तव्य राख्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा(तामाड.),तस्बिर ः नुवाकोट पुकार डटकम
देउराली । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले म्यागङ गाउँपालिकालाई पर्यटकीय रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।
नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाको प्रसाशकिय भवनको आज बुधबार मानेब्लेमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले पर्यटकीय हिसाबले धेरै उपयुक्त स्थान भएकाले यसको विकासमा प्रदेश सरकार लागिपर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममलाई सम्बोधन गर्दैै मुख्यमन्त्री लामाले भन्नुभयो, बाटोहरु धेरै बनिसकेको छ, उच्च स्थानमा छ, हिमालहरु राम्रोसँग देख्न सकिन्छ ,कृषिका हिसावले पनि धेरै राम्रा जमिनहरु छन्,अब यो क्षेत्रलाई पर्यटकीय रुपमा विकास सकिन्छ ।
उहाँले पर्यटकीय रुपमा विकास गर्नका लागि राम्रो राम्रो होटल तथा रिसोर्टहरु सञ्चालन गर्न समेत व्यवसायीहरुलाई सुझाव दिनुभयो। उहाँले कृषि क्षेत्रको समेत राम्रो सम्भावना रहेको भन्दै सुन्तला फलेको देख्दा आफू निकै खुशी भएको समेत बताउनुभयो । उहाँले गर्ने हो भने सकिन्छ भन्ने उदाहरण सुन्तलाबाट पाएको भन्दै अब कृषिको विकासका लागि प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो । आफू मुख्यमन्त्री भएसँगै नुवाकोट जिल्लामा विकासका धेरै काम भएको भन्दै मुख्यमन्त्री मन्त्री लामाले विकासका बाँकी काम पनि पूरा गर्दै जाने उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले स्वास्थ्य र शिक्षाका लागि समेत काम गरिरहेको भन्दै ग्रामिण भेगका स्वास्थ्य चौकीहरुमा एमबीबीएस सकेका डाक्टरहरुलाई सेवा दिन पठाउने सरकारको तयारी रहेको पनि जानकारी दिनुभयो । अर्को एक प्रशंगमा मुख्यमन्त्री लामाले तामाङ भाषालाई समेत प्रदेश सरकारले कामकाजी भाषाको रुपमा राख्ने तयारी गरेको जानकारी गराउनुभयो ।
आफू मुख्यमन्त्री भएसँगै तामाङ भाषालाई पनि कामकाजी बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, तामाङ भाषालाई पनि कामकाजी भाषाको रुपमा विकास गर्ने विषयमा प्रदेश सरकारले विधेयकमा समेटिसकेको छ, हामी छिट्टै यसलाई पनि निर्णय गर्दछौं । उहाँले तामाड. भाषा कामकाजी नभएका कारण कतिपय तामाङलाई भाषा समस्या भएर जेल बस्नु परेको समेत स्मरण गराउनु भयो, मुख्यमन्त्रीले भन्नुभयो, मरेको गाई काटेको भन्दा गाई मार्या र काटेको भन्ने बुझिएकाले समेत समस्या भएर धेरै तामाड. दाजुभाई जेल बस्नुपरेको छ ।

गाउँपालिका अध्यक्ष आशा तामाङको सभापतित्वमा भएको कार्यक्रममा अन्य पालिकाका जनप्रतिनिधि, समाजसेवी बुद्धिविहिरुले समेत मन्तव्य राखेका थिए । मुलुकमा स्थानीय तहको सरकार सञ्चालन भएको दोस्रो कार्यकालको दोस्रो वर्षमा गाउँपालिकाले आफ्नै प्रशासकिय भवन प्राप्त गरेको छ । सो भवनबाट गाउँपालिकाका सबै सेवाहरु सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ,तादी गाउँपालिका अध्यक्ष सन्तबहादुर तामाड. पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम ठकुरीले आआफ्नो धारणा राख्नु भएको थियो । यस्तै उपाध्यक्ष सिता तामाड.ले स्वागत मन्तव्य राख्दै गाउँपालिकाका विषयमा बोल्नुभएको थियो ।
करिब ६ रोपनी जमिनमा बनेको उक्त भवनमा ३० भन्दा बढि कोठाहरु तथा बैठकहलसहित अन्य तालिकहरुका लागि समेत उपयुक्त हलहरु रहेको प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीले जानकारी दिनुभयो । विगत ७ वर्षदेखि गाउँपालिकाको नेतृत्व गर्दै आउनु भएको अध्यक्ष तामाड.ले गाउँपालिकाको भवन बनेसगै सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उक्त भवनको लागत सात करोड ३६ लाख २१ हजार ५५२ रुपैयाँमा रहेको गाउँपालिका अध्यक्ष आशा तामाङले जानकारी दिए ।
म्यागङ गाउँपालिका बागमती प्रदेशको नुवाकोट जिल्लामा रहेको एउटा स्थानीय तह हो । साविकका बर्सुन्चेत , किम्ताङ , देउराली , बुङताङ र सामरी गाविस मिलेर बनेको म्यागङ गाउँपालिकाको कार्यपालिकाको कार्यालय ३ नं. वडाको चिउरिभञ्ज्याङमा रहेको छ । उक्त पालिकाको क्षेत्रफल ९७.८३ वर्ग किमि र जनसंख्या १२,६६८ (२०७८ को जनगणना अनुसार) रहेको छ । तामाड. जातीको बाहुल्यता रहेको गाउँपालिका विकासका हिसावले भने अझै पछि परेको छ ।