
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार प्रेस विज्ञप्ति जारी उक्त फोटो डा. निकोलस भुसालको फेसबुक पेजबाट पोस्ट भएको जनाएको छ।सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि हिरासतमा रहनुभएका लामिछाने अहिले हिरासतमै हुनुहुन्छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक बसन्त कुमार शमाले आज जारी गर्नु भएको विज्ञप्तिमा भनिएकोछ ,विज्ञप्तिमा भनिएको छ, “केही दिनअगाडि सामाजिक सञ्जालमा हाल चालु रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकरात्मक प्रभाव पार्ने गरी डा निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण भएको अनधिकृत तस्बिरप्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।
” अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लङ्घन गरी अनधिकृत रूपमा फोटो प्रकाशन गर्नेलाई कानुनी दायरामा ल्याउने विज्ञप्तिमा उल्लेख छ।लामिछाने पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटन क्षेत्र र जिल्ला अदालत कास्की रहेको सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
