
हेटौँडा — काठमाडौं हेटौंडा जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड आइतबारबाट एक महिनाका लागि बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्ने भएकाले एक महिनासम्म सवारी आवागमन बन्द हुनेछ । सडक स्तरोन्नतिका लागि पुस ७ गते अर्थात् आइतबारदेखि माघ ६ गतेसम्म पूर्णरुपमा बन्द गरिने सडक कार्यालयले जनाएको छ । यस्तै उक्त अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।
‘यस कार्यालयअन्तर्गत थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्मको सडकखण्ड पुस ७ गतेदेखि माघ ६ गते सम्म पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न हुन जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।
सडकले उक्त सडक बन्द गर्ने सुचना जारी गरेपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सडक सुधारको नाममा विश्वविद्यालयको पठनपाठनमै असर पर्ने भन्दै विकल्प खोज्न आग्रह समेत गरेको छ । काठमाडौं हेटौँडाको छोटो बाटोका रुपमा रहेको उक्त सडक निर्माण सम्पन्न भएसँगै काठमाडौंदेखि हेटौँडासम्मको यात्रा छोटो र सहज हुने देखिन्छ ।