नुवाकोट, विदुर । नुवाकोटको विदुर नगरपालिकास्थित पृथ्वी माध्यमिक विद्यालयले यस वर्षको एसइई २०८२ मा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो गौरवशाली शैक्षिक परम्परालाई निरन्तरता दिएको छ।
विद्यालयबाट सहभागी कुल ९२ विद्यार्थीमध्ये ९ जनाले ४.०० जिपिए प्राप्त गरेका छन्। याे जिल्लाकै उत्कृष्ट नतिजा हाे।
४.०० जिपिए ल्याउने विद्यार्थीहरूमा अलिश लामिछाने, दिलाश न्यौपाने, दिलाशा दाहाल, दिलाशा पौडेल, प्रजान प्रधान, रजनीश प्याकुरेल, सहारा अर्याल, सम्पदा श्रेष्ठ र सञ्जिता पुडासैनी रहेका छन्।
यस्तै, ३.६ भन्दा माथि ४५ जना, ३.२ भन्दा माथि ३० जना तथा २.८ भन्दा माथि १६ जनाले नतिजा हासिल गरेका छन्। कुल ९१ विद्यार्थी ग्रेडेड भएका छन् भने १ जनाको ननग्रेडेड नतिजा आएको विद्यालयले जनाएको छ।
लगातार उत्कृष्ट नतिजा निकाल्दै आएको पृथ्वी माविले विगत वर्षहरूमा पनि प्रदेश तथा राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्टता स्थापित गर्दै आएको छ। यस वर्षको नतिजाले विद्यालयको शैक्षिक गुणस्तर र मेहनती वातावरणलाई थप पुष्टि गरेको स्थानीयले बताएका छन्।
विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछाने ले नतिजाप्रति खुशी व्यक्त गर्दै यसको श्रेय सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरकारलाई दिएका छन्। उनले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ राम्रो सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन् ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्