
काठमाडौँ । नेपाली काँग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयावधि थप गरेको छ । यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको अभियान माघ १६ गते समापन गर्ने गरी समयावधि थप गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
कांग्रेसले जारी गरेको विज्ञप्ति अनुसार केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपनिर्वाचनका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियानका तोकिएका कार्य सम्पादन हुन नसकेको उल्लेख गर्दै समयावधि थप गरिएको हो । बाँकी जिल्लाहरूले सहिद दिवसका दिन माघ १६ मा समापन गर्ने गरी समयावधि थप गरिएको हो ।
जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा साङ्गठनिक रूपले गर्नरगराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन काँग्रेसले निर्देश गरेको छ ।
पार्टी केन्द्रीय कार्यसमितिको गत साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकको निर्णय बमोजिम साङ्गठनिक गतिविधि प्रभावकारी बनाउन गत असोज ७ गते प्रारम्भ भएको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको थियो ।कांग्रेस उक्त अभियानमार्फत संगठन थप चलायमान भएको दावी समेत गरेको छ ।