
नुवाकोट–र रसुवा जिल्लाको संगमस्थल एवं ऐतिहासिक तथा धार्मिक क्षेत्र उत्तरगयामा आइतवार पौषे औसीको दिन आफ्ना पितृहरुको मोक्षका श्राद्ध गर्ने भक्तजनहरु , तस्बिर ः बासुदे दाहाल(बत्स)
बासुदेव दाहाल(बत्स)
बेत्रावती । नुवाकोट–र रसुवा जिल्लाको संगमस्थल एवं ऐतिहासिक तथा धार्मिक क्षेत्र उत्तरगयामा आइतवार पौषे औसीको दिन आफ्ना पितृहरुको मोक्षका लागि हजारौं भक्तजनहरुले श्राद्ध गरेका छन् ।
नुवाकोट र रसुवाको सिमानामा रहेको बेत्रावतीस्थित त्रिशूली नदी किनारमा बिहानैदेखि पितृ भएका आफ्ना आमा बाबुको श्राद्ध गर्न मानिसहरु बिभिन्न जिल्लाबाट आएका थिए । बिहानको चिसो र हुस्सुको समेत वेवास्ता गर्दै आफ्ना पिृतहरुका लागि श्राद्ध गरिरहेका थिए ।

उत्तरगया क्षेत्रको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन पितृहरुलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरु मोक्ष हुन्छन् भन्ने बिश्वासका साथ मानिसहरुको यहाँ भीड लाग्ने गरेको छ। बेत्रावती क्षेत्र विकास समितिका अनुसार यस वर्ष २० हजारभन्दा बढिले श्राद्ध गरेको अनुमान गरिएको छ ।
पवित्र तीर्थस्थल त्रिशूली र बेत्रगंगा नदीको संगमस्थललाई नेपालको एकमात्र श्राद्ध तिर्थस्थल मानिन्छ । काँशी गया लगाएतका धार्मिक तिर्थस्थलहरुमा श्राद्ध गर्न जानुअघि यस ठाउँमा श्राद्ध गरेर मात्र गएमा पुण्य हुने जनविश्वास रहीआएको छ । यसकारण पनि यहाँ पौशे औशीका दिन उल्लेख्य मात्रामा श्राद्ध गर्नेहरुको भिड लाग्दछ ।

तीर्थश्राद्ध गर्दा श्रद्धालुहरुले जौ को पिठोबाट बनाइएको पिण्डदान गर्ने गर्छन् । यहाँ चितवन, नुवाकोट, रसुवा, काभ्रे, धादिङ, गोरखा, सिन्धुपाल्चोक, मकवानपुर, बारा लगायतलका अधिकाँश क्षेत्रबाट तिर्थयात्रीहरु आउने गरेका छन् । देवता र दानव मिलेर समुन्द्र मन्थन गर्दा निसिकएको हलाहल नामको कालकूट वीष घाँटीमा लिएका महादेवले बेतको लठ्ठीले पहरामा छेड्दा निस्किएर भई बगेको बेत्रगंगा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट उत्पत्ति भई बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माहरुको जमघट हुने भएकाले यस दिन यहाँ श्राद्ध गर्दा सबै पितृ मोक्ष हुने अर्को धार्मिक विश्वास रहिआएको छ । ‘बेत्रावतीमा श्राद्ध गरेमा पितृले गरेका पाप कर्म नास भई स्वर्गवास हुन्छन् र सन्तानलाई आशिक दिन्छन् भन्ने कुरा धर्ममा लेखेको छ, त्यही भएर आमाबुबाको श्राद्ध गर्न आएँ’ गोरखाका सिद्धप्रसाद अधिकारीले भने ।

भारत बर्षका चार गया मध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक गया उत्तरगया हो । बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुशक्षेत्रका चार गयामध्ये एक मानिने तुप्चेका युवा प्रदिप अधिकारीले बताए । यहाँ वालाचर्तुदशी, पौषे औषी, रामनवमी, हरिवोधनी एकादशी,दशहरा, ऋषितर्पणी, कुशे औशी आदी पर्वमा भक्तजनहरूको भव्य मेला लाग्दछ ।

टाढा टाढाबाट भक्तजनहरू आएर पुजा अर्चना गर्छन् । उत्तरगया पवित्र धार्मिक क्षेत्रमा पितृ मोक्षको कामना गर्दै तिथी छुटेकाहरूले पनि श्राद्ध तथा पुजा आजा गर्न हजारौं तीर्थ यात्रीहरू आउने गरेको यसको पहिचान मर्न नदिन युवा पुस्ताले योगदान गर्नु पर्ने धारण स्थानीय बुद्धिजिवी चक्रबहादुर डंगोलको छ ।

नेपालकै महत्वपूर्ण गया क्षेत्र मध्येको एक उत्तरगया क्षेत्रको महिमा इतिहासमा समेत उल्लेखित छ । भगवान श्रीरामचन्द्रको पालादेखि नेपाल चीन सन्धी भएको पौराणिक कहानी पनि छ । त्यसैले शताब्दिऔं देखिको ऐतिहासिक धार्मिक रूपले परिचित छ । ईतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाईन्छ ।

नेपाल –तिव्वत बीच लडाई हुँदा वि सं १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल पनि यही क्षेत्र भएकोले यस क्षेत्रको महत्व अझ बढेको छ । यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा पनि चिनिन्छ । परापूर्वकालमा तिव्वत र नेपाल बीचको युद्ध अन्त्य भएको लहरेपौवा गाविसको बेत्रावतीको उत्तरगयामा सन्धीको सम्झना स्वरूप सन्धी स्तम्भ निर्माण हुने बताइएको छ । स्थानियका अनुसार नेपाल र तिब्बत बीचको लडाईको स्तम्भ निमार्ण तथा पुराना किम्बदन्तीहरू जीवित राख्न प्रचार प्रसार र संरक्षण लागिएको छ ।

यसैबीच बेत्रावतीा स्नान तथा श्राद्ध गर्न आउनेहरुका लागि लाइन्स क्लब अफ काठमान्डौ स्वम्भु,पन्च धाम सेवा केन्द्र नेपाल ,बिदुर नगरपालिका,उत्तरगया गाउँपालिका,उत्तरगया कोष बिकास समितिको संयुक्त आयोजनामा निः शुल्क चिया नास्ता को व्यवस्था गरेको छ । श्राद्ध गर्नेहरुका लागि शुद्ध तरिकाले चिया नास्ताको व्यवस्था गरिएको लाइन्स क्लब अफ काठमान्डौ स्वम्भु,पन्चका गिता अमात्यले जानकारी दिनुभयो ।
