
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् खनालले आफू कुनै पार्टीमा सक्रिय नरहेको बताएका छन् ।
“हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु, म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,” खनालले लेखेका छन्, “म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।
” देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सक्दो कार्य गरिरहने उनले बताएका छन् । यसअघि खनाल एमालेमा सक्रिय थिए । उनले एमालेबाट संसदीय निर्वाचन समेत लडेका थिए ।
पछिल्लो समय उनी भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहँदै आएका छन् । उनी किन एमालेसँग असन्तुष्ट भए भन्ने विषयमा खुलाएका छैनन् ।
सर्वेन्द्रलाई गोकुलको सुझावः खाएको थालमा चुठ्नु राम्रो होईन
खनालले पार्टी छाडेपछि नेकपा एमाले का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सर्वेन्द्र खनाललाई खाएको थालमा नचुठ्न सुझाव दिएका छन् । खनालले सामाजिक सञ्जालमार्फत पार्टीसँग आवद्ध नरहेको घोषणा गरेका थिए । खनालले यस्तो घोषणा गरेलगत्तै नेता बास्कोटाले एमालेको टोपी, धोती अनि गुन्यु चोली लगाएर हाइट र लाइट बढाएकाहरुले खाएको थालमै चुठेको टिप्पणी गरेका हुन् ।
नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मान्छेको वास्तविक परिक्षण सजिलो, स्वार्थपुर्ति र पदीय महत्वकाँक्षामा होईन, सङकट,त्याग र सङघर्षको समयमा हुन्छ। आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाईट र लाईट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए । खाएको थालमा चुठ्नु राम्रो होइन । झन गएपछि सराप्ने संस्कार वाहियात नै हो।’