
हेटौँडा, बागमती प्रदेश खेलकुद विकास परिषदमा मनोनित १० जना सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले मनोनित सदस्यहरूलाई शपथ गराएका थिए ।
युवा तथा खेलकुद मन्त्रालयले रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा० र गोविन्दलाल श्रेष्ठ (काभ्रेपलाञ्चोक) लाई नियुक्त गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महर्जनले खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान गरेका व्यक्तिहरूलाई परिषद्को सदस्यमा मनोनित गरिएको जानकारी दिँदै यसले बागमती प्रदेशको समग्र खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकासमन्त्री खड्गीले परिषद्का सदस्यहरूलाई आफ्नो विज्ञता प्रयोग गरी खेलकुद क्षेत्रको प्रवर्द्धन र खेलाडीहरूको हितका लागि काम गर्न सुझाव दिनुभयो ।शपथ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङका राजनीतिक सल्लाहकार विनोद शाह, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे, प्रदेश खेलकुद विकास परिषद्का प्रमुख बद्रीबहादुर पाठक, खेलकुद मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख सूर्य दाहाललगाययको उपस्थिति रहेको थियो ।