
विदुर । नेपाली कांग्रेस नुवाकोटले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको पक्षमा माहोल सिर्जना गर्नका लागि नेपाली कांग्रेसका नेता कार्यकर्तालाई अपिल गरेको छ । नेपाली कांग्रेस नुवाकोटका कार्यबाहक सभापति राजु थापाले एक विज्ञप्ति प्रकाशित गरि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन निर्माण भएको स्मरण गराउँदै गठबन्धनमा सहभागि दलका उम्मेदवाहरुलाइ जिताउनका लागि क्रियाशिल भएर लाग्न अनुरोध गर्नुभएको छ ।
थापाले नुवाकोट १ बाट उम्मेदवार बन्नुभएका हितबहादुर तामाड., प्रदेशतर्फ क मा राधिका तामाड. र ख मा रमेश महतको पक्षमा प्रचारमा लाग्नका लागि भन्नुभएको छ । यस्तै क्षेत्र नं २ मा उम्मेदवार बन्नुभएका अर्जुननरसिंह केसी र प्रदेश उम्मेदवारहरु बहादुरसिंह लामा र रामप्रसाद ढुंगानाको पक्षमा चुनावी माहोल सिर्जना गर्न र प्रचारप्रसारमा सक्रिय भएर लाग्न पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको छ ।

विज्ञप्तिमा गठबन्धनले गर्ने सभा तथा अन्य क्रियाकलापमा जानकारी नपाए पनि आर्फ स्वतस्फूर्त सहभागि हुन र समाजिक सञ्जालबाट निर्वाचन आचारसंहिताभित्र रहेर उम्मेदवारहरुको प्रचार गर्न पनि अपिल गरिएको छ । साथै थापाले विज्ञप्तिमा गठबन्धनका उम्मेदवारको विपक्षमा गलत सार्वजनिक अभिव्यक्ति नदिन पनि सचेत गराउनु भएको छ ।
थापाले जारी गर्नुभएको विज्ञप्तिमा कांग्रेसले सबै नेता कार्यकर्ता र क्रियाशिल सदस्य समेत निगरानी राखिरहेको भन्दै पार्टी हित विपरित र गठबन्धनको मर्म र भावना विपरित कसैले अभिव्यक्ति दिने, निश्क्रिय रहने, निर्वाचनको प्रचारमा सहभागी नहुने गरे त्यो केन्द्रीय निर्देशन विपरित हुने र त्यस्ता नेता कार्यकर्तामाथि कारबाही हुने कुरामा समेत गराउनुभएको छ । साथै पार्टीका क्षेत्रीय समितिदेखी वडा कार्यसमितिलाई समेत अभिलेख राख्न भन्दै निर्वाचनपछि जिल्लामा लेखी पठाउनका लागि भनिएको छ ।