
विदुर । प्रमुख सत्तारुढ दल नेपाली नुवाकोटले जिल्लाभार सञ्चालन गरेको पार्टीको एकसय दिने अभियान सम्पन्न गरेको छ । केन्द्रीय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य किरण पौडेलको प्रमुख आतिथ्यतामा आज पार्टी कार्यालय विदुरमा भएको कार्यक्रममा वडा प्रतिनिधिहरुले पेश गरेको प्रतिवेदनका विषयमा समिक्षा समेत भएको थियो ।
वडा गएका अधिकांश प्रतिनिधिहरुले कांग्रेसको मुख्य समस्या भनेको गुटबन्दी भएको आम कार्यकर्ता र नागरिक तहको समेत निश्कर्ष रहेको सुनाएका थिए । समिक्षा बैठकमा आफ्नो धारणा राख्दैपञ्चकन्या ३ का नेता महासमिति सदस्य बैकुण्ठ खनालले कांग्रेसको हारको मुख्य कारण गुटबन्दी भएको बताउनुभयो। उहाँका अनुसार, पञ्चकन्याको २ र ५ नं. वडा (कविलास र भद्रुटार)मा कांग्रेस बलियो भए पनि पारस्परिक असहयोगका कारण हार बेहोर्नुपरेका सुनाउनुभयो । उहाँ युवा नेतृत्वलाई अगाडि ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।
यस्तै आफ्नो प्रतिवेदन पेश गर्ने क्रममा अधिकांशले कांग्रेस बलियो रहेको तर गुटबन्दीक कारण निर्वाचनमा पराजय भोग्नुपर्ने कारण रहेको सुनाएका थिए । प्रतिनिधिहरुको कुरा सुनिसकेपछि केन्द्रीय प्रतिनिधि पौडेलले कांग्रेसको मुख्य समस्या यहि भएको भन्दै विस्तारै यसको अन्त्य हुने र त्यो कुरा नेता कार्यकर्ताले बुझ्दै जाने बताउनुभयो । पौडेलले गुटगत बेमेल र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्दै संगठनलाई बलियो बनाउनुपर्ने जोड दिँदै भन्नुभयो, “हामी कसैको होइनौं, कांग्रेसकै हौं भन्ने भावना राख्नुपर्छ।”
उहाँले नयाँ पार्टीहरुमा पनि त्यस्तै चरित्र विकास हुँदै गएको भन्दै रास्वपाप्रति क्षति गर्नुभएको थियो । सभापति रमेश महतको सभापतिवमा भएको समिक्षा बैठक तथा अभियान समापन कार्यक्रममा पार्टी उपसभापति राजु थापा,सन्तमान तामाड.,सचिव श्रीराम श्रेष्ठ,बैकुण्ठ मिश्र सहितका जिल्ला नेता तथा प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए ।
स्मरणीय छ नुवाकोटमा लामो समयदेखि केसी र महत परिवार गुटबन्दी चल्दै आएको छ । बैठक पछि जिल्ला सभापति महतले कांग्रेसलाई गुट उपगुटबाट अन्त्य गर्दै कांग्रेसलाई एकतावद्ध बनाएर अघि बढाउने प्रतिवद्धता जनाउनु भएको थियो । पार्टीको सांगठनिक गतिविधिलाई सक्रिय बनाउने र संगठन विस्तार गर्ने उदेश्यकासाथ सुरु गरिएको अभियान आज सकिएको हो । केन्द्रीय नेतालाई १०० दिनसम्म तोकिएको जिल्लामा संगठनमा खट्ने गरी केन्द्रले कार्यादेश सहित प्रतिनिधि पठाएको थियो ।
१ असोजबाट सुरु भएको सांगठनिक विशेष अभियान १० पुसमा समापन हुने भनिएपनि विभिन्न कारणले अभियान पूरा हुन नसकेपछि एक महिना अर्थात माघ १६ गतेसम्मका लागि थप गरिएको थियो । थपिएको अवधिसहित कांग्रेसले देशव्यापी रुपमा सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउनुकासाथै सदस्यता नविकरणको काम गरेको जनाएको छ ।
केन्द्रीय प्रतिनिधिको उपस्थितिमा रुपमा जिल्ला ,क्षेत्र तथा प्रदेशमा सांगठनिक गतिविधि सञ्चालन गरिएको र जिल्ला प्रतिनिधि खटाएर वडातहसम्म पुगेर वडा सम्मेलन, सदस्यता नविकरण गर्ने काम गरेको नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महतले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । केन्द्रको कार्यादेश अनुसार पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँग समन्वयकारी भूमिका समेत निवार्ह गर्न अभियान सफल भएको कांग्रेसको दावी रहेको छ ।
सभापति महतका अनुसार ८८ वटा वडा रहेको नुवाकोट जिल्लामा पार्टीका प्रतिनिधिमार्फत सांगठनिक गतिविधि सञ्चालन भएको र क्रियाशिल सदस्य नविकरणका लागि मुख्य काम गरेको जानकारी दिनुभयो । उहाँले अभियानले कांग्रेसलाई एकतावद्ध बनाउनुका साथै संगठन विस्तार र सुदृढिकरणमा समेत सहयोग पुगेको दावी गर्नुभयो ।