
मकवानपुर — सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ । सोमबार बागमती ४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मच्छिन्द्र क्लबलाई १ ० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।
चर्च ब्वाइजको उपाधि दिलाउन समीर तामाङ नायक बने । उनले खेलको ४७ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच का तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उपाधिसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मछिन्द्रले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । चर्च ब्वाइजले पहिलो सहभागितामै गोल्डकपको उपाधि जितेको हो । मच्छिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका टेकेन्द्र थापा, डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मच्छिन्द्रका रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५(२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजना प्रतियोगिता भएको हो ।