
विनिता डंगोल
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज त्रिवी अन्र्तरगतका ६५ क्याम्पसहरुमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । पंक्तिकारले जानकारी पाए अनुसार देशका धेरै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर विद्यार्थी संगठनहरुबीच झडप हुने र तालाबन्दी समेत भएका छन् ।
राजधानी लगायतका धेरै क्याम्पसहरुमा यो अवस्था देखिएको छ । हुन त विगतमा पनि यस्ता गतिविधि नभएका होइन । विद्यार्थी संगठनहरुको यस्तै गतिविधिका कारण स्वतन्त्र विद्यार्थी युनियनको महत्व र गरिमा घट्दै गएको हो । यो पटक देखिएका समस्या समाधान गर्दै समयमा निर्वाचन होस् भन्ने काम गर्न सकिन्छ । नेपालमा स्वतन्त्र विद्यार्थी युनियनको पकिल्पना गर्दै त्यसलाई अगाडि बढाइएको इतिहास लामै रहेको छ । नेपालको इतिहासमा देशमा प्रजातान्त्रिक बाटोमा मुलुकलाई ल्याउनका लागि विद्यार्थीहरुको भूमिका नै महत्वपूर्ण रहेको थियो ।
विद्यार्थी आन्दोलनबाट नै देशमा प्रजातन्त्रको विगुल फूकिएको थियो । विद्यार्थी आन्दोलनबाट सुरु भएको स्ववियुको ऐतिहासिक पक्षलाई नजरअन्दाज गर्दा इतिहासमाथि नै अन्याय हुनेछ । नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको ठूलो भूमिका छ । ३० वर्षे पञ्चायती कालरात्रिमा यिनै विद्यार्थी संगठनले राजनीति जोगाएका थिए । देशमा प्रजातन्त्र ल्याउनका लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण थियो । बहुदलीय व्यवस्था स्थापना पश्चात विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियनमार्फत आफ्ना भूमिकाहरु बढाएका हुन् ।
जसले सामुदायिक कलेजहरुमा स्वतन्त्र विद्यार्थी युनियनमार्फत विद्यार्थीहरुक हक अधिकारका लागि काम गर्दै आएका छन् । तर पछिल्लो चरणमा भएका अनेक खाले आरोह अवरोहपछि यसको औचित्यमाथि समेत प्रश्न गर्न थालिएको छ । माओवादी जनयुद्धका बेलादेखि नै स्ववियुको निर्वाचनका विषयमा सहज वातावरण बन्न सकेन् । लोकतन्त्र स्थापनापश्चात मुलुक संक्रमणकालको अवस्था र संविधान जारी गर्नु पर्ने परिस्थितिका कारण पनि स्ववियु निर्वाचन नियमित हुन सकेन् , जसले गर्दा यसको भूमिका र औचित्यमाथि बहस हुने अवस्था बन्यो ।
पछिल्ला वर्षहरुबाट यसको नियमितताको प्रयास भएको छ । गत दुई वर्षअघि सम्पन्न भएको निर्वाचित पदाधिकारीको कार्यकाल सकिन लाग्दा पुन ः फेरि निर्वाचनको प्रक्रिया सुरु भएको छ । निर्वाचनको प्रक्रिया अनुसार आज उम्मेदवारले मनोनयन गर्ने कार्यतालिका रहेको छ । यस्तै चैत्र ५ गते निर्वाचनको मिति तय भैसकेको छ । निर्वाचन भनेको आफ्नो आत्मदान हो । चाहे संसदको निर्वाचन होस् वा विद्यार्थीको निर्वाचन, यसले जनमत कसको पक्षमा छ भन्ने देखाउँछ । यो पटक पनि त्रिभुवन विश्वविद्यालय अन्र्तरगतका ६५ क्याम्प्सबाट तीन लाख विद्यार्थीले मतदान गर्ने अनुमान गरिएको छ । निर्वाचनका लागि योग्य ठानिएका २५ विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुनेछ । जो संसदमा रहेका दलका भातृ संगठनहरु नै हुन् । उनीहरुको अवस्था के छ भन्ने कुरा यो निर्वाचनले पनि देखाउने हुनाले दलहरु समेत यसको लेखा जोखा गरेर बसिरहेका छन् । यसले गर्दा पनि यसको महत्व रहेको छ ।
अर्कोतर्फ यो नितान्त विद्यार्थी हक हितमा केन्द्रीत हुने संस्था हो । यसले आम विद्यार्थीहरुको हक अधिकारका विषयमा बोल्न सक्नुपर्दछ । देशमा शैक्षिक बेरोजगारी बढिररहेको बेला अबको शिक्षा कस्तो हुनुपर्दछ र देशलाई कसरी बेरोजगारीबाट मुक्त गर्न सकिन्छ भन्नेतर्फ पनि विद्यार्थीहरुले सोच्नु जरुरी छ । न कि राजनीति गर्ने थलो मात्रै बनोस् । मुलुकमा लोकतन्त्र मार्फत राजन्िितक अधिकार स्थापित भैसकेको अवस्था अब विद्यार्थीहरुले देशको शैक्षिक अवस्थामा सुधार ल्याउने बाटो खोज्नुपर्दछ जसको जे काम हो, त्यहि गर्न सकिको भने निश्चयनै त्यसको औचित्य र महत्व कायम रहन्छ ।
अन्त्यमा, निर्वाचनमार्फत सरकारी क्याम्पसप्रति आम विद्यार्थीहरुको विश्वास कम हुँदै गैरहेको अवस्थामा अबको नेतृत्वले क्याम्पसलाई राजनीति भन्दा पनि विद्यार्थीको मुद्दामा केन्द्रीत गरेर नेपालको शिक्षालाई अझ गुणस्तीय बनाउने र विद्यार्थी पलायन रोक्नसक्ने भूमिका खेलोस् । तब सबैले भन्नेछन, वा स्ववियु,। निर्वाचनका लागि हार्दिक शुभकामना ।