
नुवाकोट । नुवाकोट जिल्लामा एकै १८३ जना आँखाका बिरामीहरूको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान, नुवाकोट रेडक्रस, सामुदायिक आँखा केन्द्र नुवाकोट र लायन्स क्लब उर्जाशिल नुवाकोटको संयुक्त आयोजनामा गरिएको विशेषज्ञ शिविरमा १८३ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।
रेडक्रस भवन विदुरमा दुई दिनसम्म सञ्चालित शिविरमा उनीहरुको आँखाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिनुभयो ।
सभापति श्रेष्ठका अनुसार अनुसार शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक टोलीले शल्यक्रियासहितको उपचार गरेका थिए । त्यस्तै शिविरमा आएका विरामी र उनका आफन्तहरुलाई लायन्स क्लब उर्जाशिल नुवाकोटले निशुल्क खानाको व्यवस्था समेत गरेको थियो । शिविरमा आँखाको शल्यक्रिया गरिएका बिरामीहरूलाई निःशुल्क औषधि र चस्मा समेत वितरण गरिएको लायन्स क्लब उर्जाशिल नुवाकोटका अध्यक्ष कृष्ण भट्टले जानकारी दिनुभयो ।
उहाँले आगामी दिनमा पनि लायन्स क्लब उर्जाशिल नुवाकोटले विभिन्न सामाजिक कामहरुमा सक्रिय सहभागिता जनाउने जानकारी दिनुभयो । पछिल्लो समय जनस्तरमा स्वास्थ्यप्रतिको सजगता वृद्धि हुँदै गए पनि आँखाको हेरचाहमा भने चेतनास्तर बढाउन आवश्यक देखिएको नेत्ररोग विशेषज्ञहरुले जनाएका छन् ।