नेपालको राजनीतिमा युवाको भूमिकाः ऐतिहासिक चेतना र भविष्यको मार्गचित्र

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३, बुधबार ०९:२३

– सफलता बोगटी

नेपालको राजनीतिक र सामाजिक इतिहासमा युवा शक्ति कहिल्यै पनि केवल सहायक पात्र रहेन, यो सधैं आन्दोलनको अग्रमोर्चा र परिवर्तनको निर्णायक संवाहक रहँदै आयो । विसं २००७ को राणाविरोधी आन्दोलनदेखि २०४६ को प्रजातन्त्र पुनःस्थापना र २०६२÷६३ को जनआन्दोलन हुँदै गणतन्त्रको स्थापनासम्म, नेपाली युवाले आफ्नो रगत, पसिना र उर्वर समयको आहुति दिएका छन् । देशको हरेक राजनीतिक मोडमा सडक तताउने, बन्दुक उठाउने वा जेलको चिसो कोठामा जीवन बिताउने अग्रपंक्तिमा तिनै युवा थिए, जसले देशको काँचुली फेर्ने सपना देखेका थिए। तर, विडम्बनापूर्ण नियति के रह्यो भने, परिवर्तनको रापतापमा नेतृत्वको बागडोर सम्हालेको पुरानो पुस्ताले युवाको ऊर्जालाई सत्ताप्राप्तिको भर्याङ मात्र बनायो। परिवर्तनपछि व्यवस्थापन र शासन सञ्चालनको तहमा पुग्दा तिनै युवालाई किनारामा धकेल्ने र उनीहरूको भूमिकालाई केवल ‘भोट बैंक’ वा ‘नारा लगाउने दस्ता’मा सीमित गर्ने अभ्यास दशकौंसम्म चलिरह्यो। इतिहासले युवालाई त्याग गर्न मात्र सिकाउने तर अवसर र निर्णय प्रक्रियाबाट भने वञ्चित राख्ने ‘राजनीतिक कपट’ले गर्दा नेपाली युवा आफ्नो भाग्यको फैसला आफैं गर्ने सामथ्र्यबाट टाढिँदै गए ।


वर्तमान समय भने राजनीतिक चेतना र आक्रोशको एक जटिल संगमस्थल हो । परम्परागत दलहरूको लामो समयको शासनकालमा मौलाएको कुशासन, भ्रष्टाचार, नीतिगत अस्थिरता र बेरोजगारीले युवा पुस्तालाई आज आक्रान्त पारेको छ । अबको युवा पुस्ता राजनीतिक दलका झन्डा बोकेर ‘अन्धभक्त’ बन्ने युग समाप्त भइसकेको छ । आजका युवाहरू नीति निर्माणको तहमा ‘हस्तक्षेपकारी’ भूमिका खोजिरहेका छन् । हालैका निर्वाचनहरूमा देखिएको स्वतन्त्र उम्मेदवारीको लहर र मतदाताको बदलिँदो मनोविज्ञानले परम्परागत राजनीतिको जग हल्लाइदिएको छ। यद्यपि, चुनौती अझै गहिरो छ । शासनको मूल संरचनामा अझै पनि वृद्ध र जड मानसिकता बोकेका अनुहारहरूकै हालीमुहाली छ । युवाहरू राजनीतिमा विकल्पका रूपमा उदाउन खोजे पनि उनीहरूसँग भएको ‘अनुभवहीनता’को आरोप र ‘संगठनात्मक अभाव’लाई पुराना दलहरूले आफ्नो रक्षाकवच बनाइरहेका छन् । अहिलेको अवस्था भनेको युवाको असन्तुष्टि चरम चुलीमा पुगेको र त्यसलाई रचनात्मक राजनीतिक निकास दिने कि अराजकतामा बदलिने भन्ने अत्यन्त संवेदनशील मोड हो ।


भविष्यको नेपालको राजनीति अब केवल ‘सहभागी’ युवाले होइन, ‘निर्णायक’ युवाले मात्र दिशा दिन सक्छ । देशको भविष्य अब पुराना दलहरूको जर्जर र परम्परागत ढर्राको राजनीतिले धान्न सक्दैन। अबको राजनीतिलाई प्रविधि, विश्वव्यापी अर्थतन्त्र र आधुनिक सुशासनको नयाँ ‘सफ्टवेयर’को खाँचो छ, जुन केवल युवा पुस्तासँग मात्र हुन सक्छ । भविष्यको राजनीति सत्ता र कुर्सीको खेल होइन, बरु यो समृद्धिको ठोस कार्ययोजनासहितको ‘डिेलिभरी’ हुनुपर्छ , युवाहरूले अब सडकको आक्रोशलाई नीतिगत तहको बहस र संसद्को तर्कमा रूपान्तरण गर्नुपर्छ। जबसम्म राजनीतिमा युवाहरूको प्रवेश पद र शक्तिको लालसाबाट माथि उठेर देश बदल्ने स्पष्ट र प्राविधिक कार्ययोजनासहित हुँदैन, तबसम्म सार्थक परिवर्तन असम्भव छ । इतिहासले युवालाई बलिदानी दिन सिकाएको थियो, तर अबको पुस्ताले ‘नेतृत्व हस्तान्तरण’ को माग गर्दै राजनीतिक संस्कृतिको कायापलट गर्नुपर्छ । यो यात्रा कठिन छ, तर अबको युवा पुस्ताको काँधमा केवल आफ्नो भविष्य सुरक्षित गर्ने मात्र होइन, अघिल्लो पुस्ताले बिगाडेको राष्ट्रको भविष्यलाई सही लयमा फर्काउने ऐतिहासिक अभिभारासमेत (लेखिका सफलता बोगटी राजनितिशास्त्र स्नातकोत्तर युवा महिला राजनितिमा आफ्नो अभियान चलाइरहनुभएको छ ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *