
शुकदेव दाहाल
नेपाली कांग्रेसमा आशा गरिएका नेताहरुमध्ये महामन्त्री गगन थापा एक हुन । गगनसँगै विश्वप्रकाश शर्माको नाम धेरै कांग्रेससीले लिने गरेका छन् । नेताद्धयले बोलेका कुराप्रति कांग्रेसमा हलचल पनि आउने गरेका छन् । तर तिनै दुई नेताका बेला बेलाको अभिव्यक्तिले भने स्वयम् आफैलाई हानी गरेको पत्तो पाएको भने देखिदैन । मास र समय अनुसार बोल्ने महामन्त्रीको बानीले गर्दा आफैलाई आफ्नो बोली बचाउन गारो परिरहेको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्रीसम्म विचौलियाहरुको पहुँच पुगेको कुराले पनि नेपाली सञ्चारमाध्यमलाई निकै तताएको थियो । झण्डै दुईसाता तताएको उक्त विचारलाई प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भनाईले चिसो बनाइदिएको छ । प्रधानमन्त्री ओलीले आइतबार राजधानीमा भएको एक कार्यक्रममा कडा तर्ककासाथ उक्त भनाईको जवाफ दिनुभएको छ । प्रधानमन्त्रीको त्यो अभिव्यक्ति कांग्रेस महामन्त्री थापाप्रति नै लक्षित थियो । हुनत प्रधानमन्त्रीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि उक्त विषय जोड्नु भएको मान्न सकिन्छ । तर यो कुराको सुत्रधार भने थापा नै हुनुहुन्छ । थापाले भनेपछि बजारमा चर्चामा आएको थियो ।
झण्डै दुईहप्ता अगाडि आएको त्यो अभिव्यक्ति प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्केको तेस्रो दिन उहाँसँगको एक घण्टा लामो वार्तालापपछि दिनु भएको छ । सरकार फेरिने हल्लाकाबीच तनावमा रहनु भएका प्रधानमन्त्री ओली देउवासँगको त्यो एकघण्टा लामो भेटपछि फेरि एक पटक उत्साहित हुनु भएको छ । उत्साहसँगै प्रधानमन्त्रीले एउटा यस्तो अभिव्यक्ति दिनुभयो,जसले कांग्रेसका महामन्त्री गगन थापालाई कडा झापड हानेको जस्तै भएको छ ।
उच्चस्तरीय कार्यदलको सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापाले विगत दुईसाताअघि प्रधानमन्त्री केपी शर्मा ओलीको बेडरुमसम्मै बिचौलियाहरुको पहुँच रहेको भन्दै ओलीप्रति कटाक्ष गर्नुभएको थियो । तर त्यसको दुईसातापछि आइतबार ओलीले थापाप्रति लक्षित गर्दै भन्नुभयो, प्रधानमन्त्रीको बेडरुमसम्म नै बिचौलियाको पहुँच भनिएछ के,प्रमाणित गर्न सक्छन् ? त्यति मात्रै होइन प्रधानमन्त्रीले देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको समेत आरोप लगाउनुभयो । प्रधानन्त्रीको भनाई थियो, “झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “आजकाल निलो रङ्गका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी गर्दै प्रधानमन्त्रीले पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उहाँले विश्लेषणात्मक चेत राख्न सुझाव समेत दिनुभयो । “पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ ।
विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन ।’’ उहाँले भन्नुभयो । समय र मास अनुसार बोल्ने आरोप लागेको कांग्रेस महामन्त्रीप्रति लक्षित यो अभिव्यक्तिप्रतिको थप प्रतिक्रिया त आएको छैन,तर आफूले बोलेका कुरालाई आफैले बचाउन नसक्ने कुरा गर्दा कांग्रेस महामन्त्रीद्धयको शाख भने गिर्ने हो कि भन्ने चिन्ता कांग्रेसजनमा छाएको छ । सत्तामा रहेको र आफै जवाफदेही हुनुपर्ने र सरकारमा रहेका बेला यस्ता कुरा गर्दा र बोल्दा भने पार्टीको उच्च तहमा रहेका नेताहरुले भने विचार गर्नै पर्ने सन्देश थापाका अभिव्यक्तिले दिएको भने पक्कै देखिन्छ ।