
सफलता बोगटी
आजको डिजिटल युगमा सामाजिक सञ्जाल एक यस्तो शक्तिशाली माध्यम बनेको छ जसले हाम्रो जीवनका हरेक पाटोलाई प्रभाव पारेको छ। फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले सूचना प्रवाहलाई तिव्र बनाएका छ्।नव प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने अवसर दिएका छन् र ग्रामीणदेखि शहरी क्षेत्रसम्मका मानिसहरूलाई समान रूपमा विश्वसँग जोडिन सहज गरिदिएका छन् ।
नेपालका युवाहरूले सामाजिक सञ्जालमार्फत राजनीति, व्यापार, शिक्षा, र कला क्षेत्रमा सक्रिय सहभागिता जनाउन थालेका छन् । दुर्गम गाउँका कलाकारहरू पनि आज आफ्ना प्रतिभा विश्वसामु प्रदर्शन गर्न सफल भएका छन्। यूट्युब, टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्महरूबाट लाखौँ रुपैयाँ आम्दानी गर्ने युवा उद्यमीहरूको संख्या बढ्दो छ। स्थानीय उत्पादनलाई अनलाइनमार्फत प्रचार गर्दै नेपाली उत्पादनलाई विश्व बजारसम्म पु¥याउने कार्यमा सामाजिक सञ्जालले ठूलो भूमिका खेलेको छ ।
राजनीतिक चेतना अभिवृद्धिमा पनि सामाजिक सञ्जालले योगदान दिएको छ। युवाहरू नीति निर्माण र शासनप्रति चासो राख्न थालेका छन्। अभियानहरू, आन्दोलनहरू र सचेतना कार्यक्रमहरू सामाजिक सञ्जालमार्फत छिटो फैलने गरेका छन्। यसले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन मद्दत पुर्याएको छ । तर, सामाजिक सञ्जालले ल्याएका यस्ता सकारात्मक परिवर्तनहरूसँगै यसको अन्धकार पक्षले पनि गम्भीर चिन्ता जन्माएको छ। अनलाइन उत्पीडन, साइबर बुलिङ, गोपनीयताको उल्लङ्घन, र गलत सूचना फैलाउने गतिविधिहरू बढेका छन्। युवतीहरू, कलाकारहरू, र सर्वसाधारणहरू सामाजिक सञ्जालमा हुने दुव्र्यवहारका मुख्य शिकार बनेका छन्। अनलाइन धम्की, चरित्र हत्या, ब्ल्याकमेलिङ र साइबर ठगीजस्ता अपराधहरू निरन्तर बढिरहेका छन् । यो प्रवृत्तिले मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ। धेरैजसो घटनामा पीडितहरूले डिप्रेशन, आत्महत्या, र सामाजिक बहिष्कार जस्ता गम्भीर समस्याहरू भोग्नुपरेको छ।
अनलाइन दुव्र्यवहारका कारण समाजमा हिंसा र अविश्वास बढ्दो छ। नेपालमा साइबर अपराधसम्बन्धी कानुनी व्यवस्था मुख्यतः विद्युतिय कारोबार ऐन, २०६३ र मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत रहेको छ । तर, यी कानुनहरू डिजिटल युगका जटिल चुनौतीहरूलाई सामना गर्न पर्याप्त छैनन् । पीडितले न्याय प्राप्त गर्न धेरै अप्ठ्यारो सहनुपर्छ। प्रमाण संकलन, साइबर फरेन्सिक अनुसन्धान र पीडित सहायता प्रणाली अझै सबल भएको छैन ।
त्यसैले नेपालमा अहिले सामाजिक सञ्जालसम्बन्धी समस्यालाई समाधान गर्न विशेष कानुनी सुधारहरू अत्यन्त जरुरी छन्। पहिलो, अनलाइन हिंसा, साइबर ठगी, गोपनीयता उल्लङ्घन र डिजिटल हेट क्राइमजस्ता विषयमा स्पष्ट र कडा कानुनी व्यवस्था गर्नु आवश्यक छ। दोस्रो, साइबर अपराधसम्बन्धी उजुरीहरूलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्न प्रहरी संगठनभित्र विशेष साइबर इकाइ स्थापना गर्नुपर्छ। तेस्रो, नागरिकहरूलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षाबारे व्यापक रूपमा सचेत गराउन राष्ट्रिय अभियान सञ्चालन गर्नु जरुरी छ ।
विद्यालय तहदेखि नै डिजिटल अधिकार र जिम्मेवारीबारे शिक्षा सुरु गर्नु आवश्यक छ। सामाजिक सञ्जाल प्रयोग गर्दा कानुनी, नैतिक र सामाजिक जिम्मेवारीहरूबारे विद्यार्थीलाई सिकाउनुपर्छ। डिजिटल नागरिकता र साइबर एथिक्ससम्बन्धी तालिम अनिवार्य बनाउनुपर्छ ।
साथै, साइबर अपराधका पीडितहरूलाई निःशुल्क कानुनी सहायता र मनोवैज्ञानिक परामर्श उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ। उजुरी प्रणालीलाई सहज, गोप्य र पीडितमैत्री बनाइनु अत्यन्त जरुरी छ।
यदि सामाजिक सञ्जाललाई सही दिशा दिन सक्यौँ भने, यसले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा अतुलनीय योगदान पु¥याउन सक्छ। तर यदि हामीले समयमै यसको गलत प्रयोग नियन्त्रण गर्न सकेनौँ भने, सामाजिक बिखण्डन, अविश्वास र हिंसा बढ्ने खतरा रहन्छ ।अतः अहिलेको आवश्यकता भनेको सामाजिक सञ्जाललाई सकारात्मक शक्तिको रूपमा विकास गर्नु, जिम्मेवार प्रयोगकर्ता बन्नु र कानुनी संरचनालाई मजबुत बनाउनु हो।
नेपाल डिजिटल युगमा अगाडि बढ्दैछ। त्यसैले सामाजिक सञ्जालसँग सम्बन्धित अवसरहरूको उपयोग गर्दै चुनौतीहरूको सामना गर्ने समय आएको छ। हामी सबैले संयुक्त रूपमा जिम्मेवारी वहन गरे मात्र डिजिटल नेपाल सुन्दर र सुरक्षित बन्न सक्छ्।
(लेखिका बोगटी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिकशास्त्रमा स्नाकोत्तर अध्ययनगर्दै छिन्)