
श्रीराम श्रेष्ठ
श्रीराम श्रेष्ठ
परिवर्तन एकै पटक हुने कुरा होइन । जङ्गली एवम् सिकारी युगदेखि मानिसजातिले जीवनयापनबारे सिक्दै, बुझ्दै, जान्दै र प्रयोग गर्दै आयो र क्रमशः सफल हुँदै गयो । यसपछि खेती गर्ने युगमा प्रवेश गरेपछि मानिसले आफूलाई जमिनको मालिकका रूपमा स्थापित गर्दै गयो र आफूभन्दा कमजोरलाई उत्पादनमा लगाएर आफू आरामले खान थाल्यो । अर्थात्, विलासी जीवनको बाटोतर्फ लाग्यो ।
यो जीवनशैलीले आफू जस्तै स्वरूपका अरू सर्वसाधारणलाई भएको पीडा र दुःखबारे नसोचेको वा सोच्न बुझ्न नचाहेर सामन्तीहरू टोल– टोलमा जन्मन थाले । शारीरिक बल देखाएर वा अन्य कुनै डर देखाएर कमजोरलाई काम लगाउने र यिनीहरूलाई गरिबीबाट कहिल्यै माथि उठ्न नदिने नीतितर्फ अग्रसर भए ।
नेपाली समाज एउटा यस्तो समाजका रूपमा विकसित भइरहेको थियो कि राजा पृथ्वीनारायण शाहकै कार्यकालमा बाइसे चौबिसे राज्य वा राजा अन्त्य गरिएको थियो । तर घोषित रूपमा राजा नभनिएका तर राजशैलीमा गाउँघरमा शासन गरेर गरिबको शोषण गरिरहेका त छ्यापछ्याप्ती नै थिए ।
यस्ता सामन्तको दबाब र पीडामा सर्वसाधारण नागरिकले जीवन चलाइरहेका थिए । समय सधैँ एकैप्रकारको हुँदैन अर्थात् बितेको दिन फर्किएर होइन कि हरदिन नयाँ दिन आउँछ । यसले केही न केही परिवर्तनका किरण बोकेर आएको हुन्छ । नेपालका गरिबपीडित नेपाली समुदाय भित्र भित्रै उकुसमुकुस भएर बसिरहेका थिए। यो उकुसमुकुसको विस्फोट गराउने दिनको प्रतीक्षामा थिए ।
वास्तवमा त्यो दिन क्रमशः आउने वातावरण बन्दै थियो । गरिब, पीडित, शोषित नागरिकको घर–घरमा र टोल–टोलमा आफ्नो गाउँका र आफ्नो ठाउँका शोषक सामन्तीबारे छलफल आरम्भ भइसकेको थियो । त्यो समयमा सञ्चारको विकास भइसकेको थिएन ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा मौखिक खबर आदान–प्रदान गर्ने नै सञ्चारमाध्यम थियो । यातायातको पहुँच थिएन, जता पनि पैदल हिँडेरै पुग्नुपर्ने समय थियो ।
यसले गर्दा आफ्नो गाउँ र ठाउँबाहेक अन्यत्र भएको विकास परिवर्तन र मानिसको सोचविचार, संस्कार, परम्परालगायत आदान– प्रदानको सम्भावना थिएन नै । यस्तो अवस्थाबाट जीवनलाई सहज र सुगम बनाउन आफू आफैँभित्रबाट जागृत हुनुपर्नेबाहेक अर्को बाटो पनि थिएन । राजधानी काठमाडौँको खबर काठमाडौंभित्रकै र ललितपुर र भक्तपुर जिल्लाका नागरिकले थाहा पाउनसमेत महिनौँ लाग्ने त्यो समयमा राजधानीबाहिरको खबर सरकारले थाहा पाओस् र सरकारको खबर नागरिकले थाहा पाउन अवश्य पनि निकै समय लाग्थ्यो । तैपनि त्यो समयमा सरकारी पत्रिका, सरकारी रेडियो र केही साप्ताहिक पत्रपत्रिका प्रकाशनमा थिए ।
त्यसैले शिक्षा र चेतनाको विकासका निम्ति समाज र नागरिकलाई समय लाग्ने नै भयो । त्यति बेला देशमा प्रजातान्त्रिक सरकार भएकाले गरिब–पीडित जनता बिस्तारै जान्ने–बुझ्ने र थाहा पाउने यात्रामा अग्रसर थिए ।(लेखक ः नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव हुनुहुन्छ)