नुवाकोट, बेलकोटगढी– राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८३ सालमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नुवाकोटको बेलकोटगढी नगरपालिका–८, जिलिङस्थित श्री कल्याणीदेवी माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ।
विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये ९० प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएका छन्। विद्यालयका विद्यार्थी अविरल पुडासैनीले ३.६४ GPA प्राप्त गर्दै विद्यालयको उत्कृष्ट नतिजा कायम गरेका छन्।
कल्याणीदेवी माविले विगत केही वर्षदेखि निरन्तर रूपमा शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। यसअघि सञ्चालन भएको एसईई परीक्षामा ३.७१ GPA सहित शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन विद्यालय सफल भएको थियो। त्यस्तै, BLE परीक्षामा विद्यार्थी जनक भट्टले पालिकास्तरमा दोस्रो स्थान हासिल गर्दै विद्यालयको शैक्षिक प्रतिष्ठालाई थप उचाइमा पुर्याएका थिए।
विद्यालयले एसईई परीक्षामा लगातार केही वर्षदेखि शतप्रतिशत नतिजा निकाल्दै आएको र कक्षा १२ मा समेत सन्तोषजनक उपलब्धि हासिल गरेको भन्दै विद्यालय परिवार उत्साहित बनेको छ।
विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद पुडासैनी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार पुडासैनीले प्राप्त नतिजाप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अझ सुदृढ बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।
हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब ५ सय विद्यार्थी अध्ययनरत रहेका छन्। ग्रामीण क्षेत्रमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कल्याणीदेवी माध्यमिक विद्यालय पछिल्लो समय जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ।
नुवाकोट पुकार




तपाईको प्रतिक्रिया दिनुहोस्