
विदुर । नेपाली कांग्रेस बेलकोटगढी नगर कार्यसमितिले नगरपालिकामा भैरहेको विकृति र विसंगतिका विषयमा नगर मेयर जगत लामाको ध्यानाकर्षण गराएको छ । कांग्रेस बेलकोटगढी नगर कार्यससिमतिका सभापति लेखनाथ मुडवरीको नेतृत्वका कांग्रेस नेताहरुले मेयर लामा र उपमेयर शिवप्रसाद दाहालको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेसले ढुंगा गिटी, बालुवा जस्ता नदीजन्य पदार्थमा कर उठाउन स्थानीय सरकार असफल भएको, विद्यालय व्यवस्थापन समिति गठन गर्न ढिलाई गरेको, स्थानीय योजानहरुमा भ्रष्टाचार व्याप्त भएको,नगरपालिकाका मेयर, उपमेयर जनताका काममा भन्दा आफ्ना काममा बढी व्यस्त हुँदा जनताले सास्ती व्यहोर्नु परेको,नगरपालिकामा कर्मचारीको अभाव भएको,नगरपालिकाको भवन निर्माणमा अनियमिमता भएको,सार्वजनिक सुनुवाई नगरिएको लगायतका विषय समेटेर ध्यानाकर्षण गराएको छ । कांग्रेसले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मेयर लामाले कांग्रेसले उठाएका विषयमा आफूहरु गम्भीर भएर लाग्ने र यस्ता विषयलाई सार्वजनिक सुनुवाईमार्फत सार्वजनिक गरिने प्रतिवद्धता समेत जनाएका छन् ।
यस्तै भ्रष्टाचारका विषयमा उठेको सवाललमा भने मेयर लामाले आफूहरु विधि प्रक्रिया भन्दा बाहिर गएर कुनै निर्णय नलिएको भन्दै चित्त नबुझे अन्य निकायमा गएर उजूरी दिन सक्ने सुझाव समेत दिएका छन् । बेलकोटगढी नगरपालिकामा माओवादीबाट निर्वाचित मेयर छन् भने कांग्रेसबाट उपमेयरसहित बहुमत कार्यपालिका सदस्य रहेका छन् ।
कांग्रेस र माओवादी गठबन्धन गरेर नगरपालिकामा नेतृत्व लिएको भएपनि पछिल्लो समय माओवादीले एकलौटी रुपमा काम गर्दै आएको कांग्रेसले आरोप लगाउँदै आएको छ । पछिल्लो आम नागरिकतहबाट समेत नगरपालिकाको पछिल्लो क्रियाकलापप्रति असन्तुष्ट व्यक्त भएको भन्दै कांग्रेसले आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेका उपमेयर शिव दाहालसहित वडा अध्यक्षहरुलाई समेत राखेर मेयरको ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण बुझाउँदै सभापति मुड्बरीले आफुहरुले उठाएका विषय सम्बोधन नभए आगामी नगरपरिषद् बहिस्कार गर्नेसम्मको चेतावनी दिएको छन् ।
यस्तै कांग्रेसले एम्बुलेन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नसकेको, नगरपालिका वरपरका सडक निर्माण नभएको विषय पनि उठाएको छ । कांग्रेसका नेता कार्यकर्ता ध्यानाकर्षणपत्र बुझाउन गएको विषयमा माओवादी नेता कार्यकर्ताहरुले हुटिड. गरेको भन्दै केही समय चर्काचर्की समेत भएको थियो । कांग्रेसबाट ध्यानाकर्षण बुझाउन सभापति मुड्बरीसहित कांग्रेसका जिल्ला सहसचिव यादव नेपाल,कांग्रेस नेता प्रतापसिंह लामा,बागमती प्रदेशका आमन्त्रित सदस्य श्याम ढुंगाना,कांग्रेस नेता कृष्ण पाण्डे, इन्द्र लामा, हिरा पाण्डेलगायतका नेताहरु सहभागि भएका थिए ।
