
बाघाखोर ः कुनैबेला सँगै निर्वाचन लडेर जनताको मत लिएका कांग्रेस र माओवादी पछिल्लो समय एकअर्काप्रति कटाक्ष गर्न थालेका छन् । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा गत निर्वाचनमा गठबनधन गरेका दुईदलबीच पछिल्लो समय देखिएको विवादका कारण विकास निर्माणको काममा समेत प्रभाव पर्न थालेको छ ।
कांग्रेसले मेयर जगत लामाले कार्यकारी भूमिका प्रयोग गर्दै बहुमतप्राप्त नेतृत्वलाई वेवास्ता गरेको र नगरपालिकालाई सहि रुपमा सञ्चालन गर्न नसेको लगायतका विभिन्न माग राखेर मंगलबार दश बुँदे ध्यानाकर्षणपत्र बुझाएको केही घण्टापछि माओवादीले पनि कांग्रेसले बहुमतका दम्भका आधारमा मेयरलाई काम गर्न नदिएको भन्दै त्यसको प्रतिकार गर्ने चेतावनीसहितको ज्ञापनपत्र बुझाएको छ ।
माओवादीका नेता कार्यकर्ताहरुको उपस्थितिमा माओवादी नगर कमिटिका संयोजकसहितका पदाधिकारीहरुले हस्ताक्षर गरि बुझाइएको ज्ञापनपत्रमा विगतमा नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालका विषयमा सार्वजनिक भएको अडियो काण्डका विषयमा छानविन गर्दै सार्वजनिक सुनुवाईमाफत सार्वजनिक गर्नुपर्ने, नगरक्षेत्रभित्र रहेका ढुंगा, बालुवाखानी लगायतका जनप्रतिनिधिले नै कमिशन मागेर मागेको,सरुवा भएका शिक्षकप्रतिनिधिलाई सरुवा हुनबाट रोक्ने प्रयास भएको,कर संकलन नभएको,बहुमतका आधारमा कांग्रेसले काम गर्न नदिएको लगायतका विषय समेटिएको छ ।
माओवादीले शिक्षा शाखामा कार्यरत शिक्षक बद्री शर्मा बढुवा भएसँगै स्वभाविक रुपमा भएको सरुवालाई कांग्रेसले रोक्न खोजेको आरोप लगएको छ । तर कांग्रेसले भने कार्यपालिका बैठकबाट निर्णय गर्दे उनलाई सोही जिम्मेवारीमा कायम राख्न खोजिररहेको छ । नगरपालिकाभित्र राहतमा कार्यररत शिक्षकहरुले स्थायीमा नाम निकालेपछि रिक्त स्थानमा शिक्षक नियुक्ति गर्ने विषय समेत सोही घटनाबाट पेचिलो बनेको छ । माओवादीले कर संकलनका विषयमा पनि कुरा उठाएको छ । तर कांग्रेसले भने आफ्ना मान्छेलाई विना कर सडक निर्माणका नाममा गिटी, बालुवा उत्खनन्मा छुट दिएको आरोप लगाएको छ । यस्तै कांग्रेसले विद्यालय व्यवस्थापन समितिमा माओवादीले आफ्ना मान्छे अध्यक्ष हुन नमिल्ने ठाउँमा अन्य दललाई नदिएर अल्झाएको आरोप लगाएको छ ,माओवादी यस विषयमा बोलेको छैन । यस्तै मेयरले नगरपालिकामा समय नदिएको विषयमा पनि माओवादीले आफ्नो ज्ञापनपत्रमा उल्लेख गरेको छैन, तर कांग्रेसले त्यसलाई मुख्य रुपमा उठाएको छ ।
माओवादी केन्द्रले बुझाएको ज्ञापनपत्र बुझ्दै मेयर लामाले आफूले यसअघि कांग्रेसलाई व्यक्त गरेको प्रतिवद्धता अनुसार नै आफूले नगरपालिकाले गरेका कामलाई सार्वजनिक सुनुवाईमार्फत सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । स्मरणीय छ,गत निर्वाचनमा मेयर माओवादी र उपमेयर कांग्रेसले लिनेगरि भागबण्डा भएको थियो । सोहि आधारमा गठबन्धनले जित हासिल गरेको थियो । वडा अध्यक्षमा भने एक्ला एक्लै भिडेका थिए । तर पछिल्लो समय केन्द्रीय सत्तामा भएको फेरबदलका कारण स्थानीय तहमा पनि कांग्रेस माओवादीबीच द्वन्द्व सुरु भएको छ ।
कांग्रेसले मेयरले कार्यकारी अघिकार प्रयोग गर्दै बहुमतलदाई दवाव राख्न खोजेको आरोप लगाएको छ भने माओवादीले बहुमतको दम्भ देखाउँदै मेयरलाई काम गर्नबाट रोक्न खोजेको आरोप लगाएको छ । कांग्रेस माओवादीको द्वन्द्वका कारण नगरपालिका भने प्रगतीशुन्य अवस्थामा पुगेको स्थानीयहरुको गुनासो रहँदै आएको छ ।