काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक पार्टीभित्रकै असन्तुष्टिका बीच सुरु भएको छ। बैठकमा पार्टीका तीन पूर्वअध्यक्षसहित केही वरिष्ठ नेताहरू अनुपस्थित रहेर बहिष्कार जनाएका छन्।
बैठक बहिष्कार गर्ने नेताहरूमा पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाका साथै उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही लगायतका केन्द्रीय सदस्यहरू रहेका छन्।
बहिष्कार गर्ने पक्षले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य नभएका व्यक्तिहरूलाई पनि सहभागी गराइएको भन्दै आपत्ति जनाएको छ। उनीहरूको भनाइमा पार्टीको विधानअनुसार बैठकमा केन्द्रीय सदस्यहरू मात्र सहभागी हुनुपर्ने व्यवस्था भए पनि त्यसको पालना नगरिएको छ।
केन्द्रीय सदस्य जनकराज पाठकले पार्टीको विधि, विधान र संगठनात्मक मर्यादाविपरीत बैठक सञ्चालन गर्न खोजिएकाले आफूहरू सहभागी नभएको बताएका छन्। बहिष्कार गर्ने नेताहरूले पार्टीभित्र निर्णय प्रक्रिया पारदर्शी र विधानसम्मत हुनुपर्ने मागसमेत राखेका छन्।
यता, असन्तुष्टिको वातावरणबीच पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय समिति बैठक भने राजधानीमा जारी रहेको छ।
नुवाकोट पुकार




तपाईको प्रतिक्रिया दिनुहोस्