
नवनियुक्त गभर्नर डा पौडेल नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेल बुधबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पदभार सम्हाल्नुहुँदै । तस्बिरःगोपाल दाहाल/रासस
काठमाडौँ, जेठ ७ गते । नेपाल राष्ट्र बैँकका नवनियुक्त गभर्नर डा। विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरूप राष्ट्र बैँकले आफ्ना काम कारबाही अघि बढाउने बताउनुभएको छ ।
वालुवाटारस्थित बैँकको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले राष्ट्र बैँकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पार्नुभयो । “वित्त नीतिबाट जे कुराहरू तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ”, उहाँले भन्नुभयो, “नियमन र सुपरीवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्ने छ । यसका लागि राष्ट्र बैँकको क्षमता बढाउनुपर्ने छ ।”
बैँक तथा वित्तीय संस्थामा रहेको नागरिको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैँकले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।
त्यस्तै, राष्ट्र बैँकले विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरेर मात्रै निर्णय लिने उहाँको भनाइ छ । “नीति निर्माण भनेको संवादमा आधारित हुनुपर्छ । म आफैँ मात्र कुनै प्रस्ताव ल्याएर यसै गरौँ भन्ने पक्षमा छैन । सबै सरोकारवाला निकायहरूसँग छलफल गरेर जान्छौँ”, गभर्नर पौडेलले भन्नुभयो ।
राष्ट्र बैँकका कार्यकारी निर्देशक डा गुणाकर भट्टको राजीनामा स्वीकृतको विषय राष्ट्र बैँकको आन्तरिक मामिला भएको धारणा पनि उहाँले राख्नुभयो । नवनियुक्त गभर्नर डा। पौडेलले ५०० र एक हजार दरका बैँक नोट छपाइसँग सम्बन्धित निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।