
७ जेठ, काठमाडौं । प्रमुख सत्रारुढ दल नेपाली कांग्रेसको क्रियाशिल सदस्य नविकरण विवादका कारण फेरि समय थप गरिएको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण असार मसान्तभित्र सक्न सबै जिल्लालाई निर्देशन गरेको छ ।
पार्टी महामन्त्री तथा समितिका संयोजक गगन थापाको अध्यक्षतामा बसेको बैठकले असार मसान्तसम्म नवीकरण भएका सदस्यको नाम दर्ता गर्ने निर्णय गरेको छ । असार मसान्तसम्म नविकरण हुन नसके पासवर्ड स्वत निष्क्रिय हुनेछ । त्यसपछि भने नविकरणको प्रक्रिया बन्द हुनेछ । सबै जिल्लाबाट नवीकरण भएका सदस्यहरू सूचीकृत गर्न कांग्रेसले पासवर्डको व्यवस्था गरेको छ ।क्रियाशील सदस्यता नवीकरणका लागि १० जिल्लामा विवाद भएको र त्यसमा समितिका नेताहरू गई विवाद मिलाउन प्रयास हुने भएको छ ।
सिरहा, बारा, सर्लाही, खोटाङ, रुपन्देही, सुर्खेत, कपिलवस्तु लगायतका जिल्लामा विवाद रहेको समितिले जनाएको छ ।केही जिल्लामा पार्टीभित्रका समूहको विवादले नवीकरणमा समस्या परेको समितिले जानकारी दिएको छ ।अनुशासन समितिले कारबाही गर्नेरनगर्ने निर्क्योल हुन नसकेको विषयमा महामन्त्री गगन थापाले शीर्ष नेताहरूसँग छलफल गरेर टुंगो लगाउने निर्णय गरिएको छ ।
यसअघि कांग्रेसले वैशाख १५ सम्म नविकरणको समयसिमा तोकेको थियो । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सबै तहकोे म्याद २०८२ मंसिरमा सकिदैछ ।