
विदुर । नुवाकोटको जिल्लाका एक युवाले दोस्रो पटक सफल रुपमा सगरमाथा आरोहण गरेका छन् । जिल्लाको विदुर नगरपालिका २ स्थित वोहरा पानीका युवा अरविन्द्र खड्काले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रो पटक आरोहण गरेका हन । उनी नुवाकोट जिल्लाबाट दुई पटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति भएका छन् ।
भैरवी माविका पूर्व विद्यार्थी अरविन्द (अरि) खड्काले सर्वोच्च शिखर सगरमाथाको दोस्रो पटक साफतापूर्वक आरोहण गरेको सो विद्यालयले जनाएको छ । उनले उक्त विद्यालयबाट २०६३ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । १७ जना आरोही सम्मिलित सेभेन समिट ट्रेक्सको टोलीमा रहेका खड्काले यसअघि २०७९ साल (सन् २०२२) मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । खड्का हिमनदी तथा जलवायु परिवर्तनको अनुसन्धानमा सक्रिय रहेका छन् ।
पारिवारिक स्रोतका अनुसार खड्काले यही विषयमा फ्रान्सको फेन्च नेशनल इन्स्टिच्युटबाट विद्यावारिधिसमेत गरेका छन् । खड्काले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट जलवायु विज्ञानमा स्नातकोत्तर र त्रिचन्द्र कलेज काठमाडौँबाट स्नातक पूरा गरेका थिए । उनी एसएलसी परीक्षामा पहिलो श्रेणीमा उत्तीर्ण गर्दै विज्ञान संकायमा कक्षा १२ को अध्ययन पुरा गरेका थिए । उनले सफल रुपमा सगरमाथा आरोहण गरेसँगै उनका परिवार र विद्यालयले समे खुशी व्यक्त गरेको छ । विदुर नगरपालिकाले पनि नुवाकोट जिल्लाबाट दुई दुई पटक सफल रुपमा सगरमाथा आरोहण गरेको भन्दै खुशी व्यक्त गरेको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले सिंगो नुवाकोटसँगै विदुर नगरपालिकाको नाम राखेकोमा खुशी हुँदै खड्कालाई बधाई दिएका छन् ।