नेकपा नगर कमिटी सभापति गोकर्ण न्यौपानेको राजीनामा, पार्टी पुनर्गठनको माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ७, आईतवार १६:०९

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बेलकाेटगढी नगर कमिटी सभापति गोकर्ण न्यौपाने (गजेन्द्र) ले पार्टी पुनर्गठनको आवश्यकता औंल्याउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले अब आफू पार्टीको साधारण सदस्यका रूपमा मात्र रहने बताएका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै न्यौपानेले एकिकृत समाजवादीसँग पार्टी समायोजन प्रक्रिया पूर्ण रूपमा गलत रहेको दाबी गरेका छन्। उनले तत्काल समायोजन प्रक्रिया रोक्न, वर्तमान सबै कमिटीहरू विघटन गर्न वा आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।


उनले वडा तहदेखि केन्द्रसम्म विशेष महाधिवेशन आयोजना गरी संगठन पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। साथै, पार्टीका सबै नेता तथा कार्यकर्ताहरू आ–आफ्नो वडामा सदस्यको हैसियतमा फर्केर त्यहीँबाट चयन वा निर्वाचित भएर आउनुपर्ने उनको भनाइ छ।


विशेष महाधिवेशनमार्फत वैचारिक–राजनीतिक कार्यदिशा पारित गर्ने, पार्टी विधान पुनर्लेखन गर्ने, प्रत्यक्ष निर्वाचित प्रणालीअनुसार संगठन निर्माण गर्ने तथा राष्ट्रियता, गणतन्त्र र जनजीविकाका सवालमा नवयुवा आन्दोलनको मर्म आत्मसात् गर्दै जनसम्बन्ध सुदृढ गर्नुपर्ने न्यौपानेले उल्लेख गरेका छन्।


“पुरानो तरिकाले अब सम्भव छैन। कुरा उठाउनेले आफैंबाट सुरु गर्नुपर्छ भन्ने ठानेर मैले पार्टीको सदस्य मात्र रहने गरी सबै जिम्मेवारीबाट राजीनामा दिएको छु,” उनले भनेका छन्।
उनले आफ्नो अभियानलाई ‘#सुरुआफैँबाट_सुरु’ भन्दै पार्टीभित्र व्यापक सुधार र पुनर्संरचनाको आवश्यकता औंल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *