काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै अब देश परिवर्तनको ‘गोल हान्ने’ जिम्मा उनकै काँधमा रहेको बताएका छन्।
चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले चुनावअघि नै पार्टीले बालेनको नेतृत्वलाई समर्थन गर्दै ‘बल खुट्टामा पुर्याइसकेको’ उल्लेख गरे। अब त्यसलाई परिणाममा रूपान्तरण गर्ने जिम्मेवारी बालेनकै रहेको उनको भनाइ थियो।
लामिछानेले रास्वपा र बालेनबीच चुनावअघि भएका सहमति तथा प्रतिबद्धताहरू क्रमशः कार्यान्वयन गरिने दृढता व्यक्त गरे। नेपाली जनता र इतिहासलाई साक्षी राखेर गरिएका प्रतिबद्धताबाट पछि नहट्ने उनले बताए।
“सरकार सञ्चालनका लागि रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो,” लामिछानेले भने, “उहाँले त्यसको निरन्तरता दिइरहनुभएको छ।”
उनले सरकारको कामकारबाहीमाथि पार्टीले निरन्तर निगरानी गरिरहेको पनि बताए। सहमतिअनुसारका एजेन्डा पूरा गर्न रास्वपा प्रतिबद्ध रहेको उल्लेख गर्दै लामिछानेले यदि कुनै कारणले लक्ष्यबाट चुकिएमा फेरि बल पास गरेर बालेनकै खुट्टामा पुर्याउने बताए।
महाधिवेशनमा लामिछानेले व्यक्तिभन्दा विचार र इतिहासप्रतिको जवाफदेहिता ठूलो विषय भएको उल्लेख गर्दै सरकार र पार्टीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताएका थिए।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्