रास्वपाको बन्दसत्र आजदेखि, रवि र स्वर्णिमका प्रतिवेदनमाथि छलफल हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ८, सोमबार ०८:०२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहानदेखि सुरु हुँदैछ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उद्योग संघको प्रदर्शनी केन्द्रमा बिहान ८:३० बजेदेखि बन्दसत्र सञ्चालन हुनेछ।


बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्ने र प्रतिनिधिहरूबीच छलफल हुनेछ।


कार्यसूचीअनुसार बिहान १० बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सहमहामन्त्री विपिनकुमार आचार्यले विधान संशोधन प्रस्ताव पेश गरी अनुमोदनका लागि प्रस्तुत गर्नेछन्।


यस्तै, उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्नेछन् भने सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। त्यसपछि लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने र आयोजक समितिले आफ्नो सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची तय गरिएको छ।


दिउँसोको भोजनपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी कार्यतालिका र आवश्यक जानकारी सार्वजनिक गर्नेछ।
महाधिवेशनको अर्को महत्वपूर्ण विषय वरिष्ठ नेता पदको व्यवस्था रहेको छ। प्रस्तावित नयाँ विधानमा सिर्जना गरिएको वरिष्ठ नेता पदमा निर्वाचन नहुने व्यवस्था गरिएको छ। बालेन्द्र शाह नेतृत्वको समूह पार्टीमा समाहित भएपछि विशेष रूपमा उक्त पद समेटिएको र महाधिवेशनबाट यसलाई अनुमोदन गरिने तयारी गरिएको रास्वपा स्रोतले जनाएको छ।


महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयनसँगै विधान संशोधन, संगठनात्मक पुनर्संरचना तथा आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *