
विदुर । प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’को उपाधि वडा नं ३ ले जितेको छ । शनिबार भएको फाइनलमा वडा नं ४ लाई हराउदै विदुर वडा नं ३ ले उपाधि जितेको हो । प्रतियोगितामा वडा नं ३ ले वडा नं ४ लाई १०४ रनको ठुलो अन्तराले हराउन सफल भएको थियो । जितको लागि १८९ रनको लक्ष्यमा रहेको वडा नं ४ ले १८.४ ओभरमा ८३ रनमा सबै विकेट गुमायो । वडा नम्बर-४ को ब्याटिंगमा किशोर अर्यालले सर्वाधिक २५ रन बनाए भने विकास लामिछानेले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वडा नम्बर-३ का बलर सुरज ओझाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै २१ रन खर्चिए । विधान खतिवडा र निरञ्जन थापाले २/२ विकेट तथा दिनेश सुबेदीले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिंग गरेको वडा नम्बर-३ ले २० ओभरमा ८ विकेट क्षेतीमा १८८ रन बनाएको थियो । वडा नम्बर-३ का ब्याटर मन्जित थपलियाले अविजित ९४ रनको योगदान दिए। प्लेयर अफ द फाइनल घोषित उनले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। राजेश रिजालले ४७ रन बनाए। वडा नम्बर-४ का बलर संजित तिवारी र किशोर अर्यालले २/२ विकेट लिए ।

वडा नम्बर-४ का विकास लामिछाने सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ पाए । उत्कृष्ट बलर वडा नम्बर-७ का हरिहर सुवेदी तथा उत्कृष्ट ब्याटर वडा नम्बर-३ का दिनेश सुवेदी, उदीयमान खेलाडीको अवार्ड वडा नम्बर ३ का सुरज ओझाले जिते । तिन विधाका उत्कृस्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोशन विश्वकर्मालाई नुवाकोट क्रिकेट एसोसिएसनले समापन कार्यक्रममा सम्मानित गरेको छ । विजेता खेलाडीहरुलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कृत गर्नु भएको थियो ।
सो अवसरमा उपाधि बिजेता विदुर–३ लाई ५० हजार र उपबिजेता विदुर– ४ लाई २५ हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र नगरप्रमुख राजन श्रेष्ठले प्रदान गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, सामाजिक विकास समितिका संयोजक एंव १ नं अध्यक्ष लेनिन रञ्जित, ३ नं अध्यक्ष बद्री रिमाल, ४ नं अध्यक्ष निलमबाबु ढुङ्गेल, ५ नं अध्यक्ष लिलानाथ न्यौपाने, १० नं अध्यक्ष गणेशकुमार नेपाल, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, प्रतियोगिताको प्राविधिक सहयोग पुर्याउदै आएको जिल्ला क्रिकेट संघ नुवाकोटका अध्यक्ष तथा केन्द्रीय सदस्य दुर्गाराज पाठक, विदुर नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्तगिरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिजय गुरुङ, भूमि समस्या समाधान आयोग नुवाकोटका सदस्य माधव रिजाल लगायतको सहभागिता रहेको थियो ।