
काठमाडौं । बचत रकम अपचलनको आरोपमा नुवाकोटको विदुर नगरपालिका–२ बट्टारस्थित शुक्रपथ बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष निरहरि उपाध्याय, संचालक सदस्य जीवनराज ओझा, शाखा प्रमुख जयवहादुर थापा र केही कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिएर पक्राउ गरेको छ।
बचतकर्ताहरूले आफ्नो बचत रकम तत्काल फिर्ता गर्न माग गर्दा संचालक समिति सदस्यहरूले जवाफ दिन सकेनन् र केही समय आवश्यक रहेको भन्दै फिर्ता प्रक्रिया ढिला गर्ने बताउँदा बचतकर्ताहरू आक्रोशित बनेका थिए। सहकारीले जिल्लामा करिब ४ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी २ करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेको जनाएको छ।
अध्यक्ष उपाध्यायले रकम फिर्ता गर्न जग्गा बेच्ने वा सदस्यहरूलाई जग्गा दिने तयारी रहेको जानकारी बताएको भएपनि त्यसप्रति समेत वचतकर्ता विश्वस्थ हुन सकेका छैनन् । शाखा प्रमुख थापाले सहकारीमा लामो समयदेखि समस्या देखिएको र सञ्चालक समितिको दबाबमा काम गर्दै आएको बताए। समस्याका कारण १५ जनाको कर्मचारी संख्या हाल पाँचमा झरेको छ ।
आइतबार विहान सहकारी भाग्ने खबर फैलिँदा बचतकर्ताहरूले सहकारीको कार्यालय घेराउ गरेका थिए। कर्मचारी भाग्ने प्रयास गर्दा उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाइएको थियो। बचतकर्ताहरूले संचालक समितिका अध्यक्ष र सदस्यलाई फोन गरी कार्यालयमा बोलाएका थिए, तर प्रमुख कार्यकारी अधिकृत नरेन्द्र विष्ट भने नआएपछि उनीहरू अझै आक्रोशित भएका थिए।
वडा नं २ का वडासदस्यको रोहवरमा पक्राउ परेका अध्यक्ष र संचालक सदस्यहरू हाल हिरासतमा छन् भने सहकारी कार्यालयमा प्रहरीले सिल गरेको छ।
सहकारीमा झण्डै एक हजार सदस्यले ५०० देखि ५० हजार रुपैयाँसम्म बचत रकम राखेका छन्। बचतकर्ताहरूले आफ्नो रकम तत्काल फिर्ता गराइदिन सरोकारवालाहरूसँग आग्रह गरेका छन्। पछिल्लो समय सहकारी संस्थाहरुले वचतकर्ताको रकम अपचलन गरेको विषयमा संसदीय छानविन समिति समेत बनेको छ ।