
पछिल्लो समय विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दो छ । सरकारी तथ्याड्.कलाई हेर्ने हो भने आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा मात्रै नौ हजार ८५९ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् । राजधानीमा व्यक्तिगत रुपमा प्रयोग हुने मात्रै होइन पछिल्ला दिनहरुमा मध्यम रुटमा चल्ले ईभीहरु त धेरै बढेका छन् ।
नुवाकोट जिल्लामा ईभीले बसहरुलाई विस्थापित गरिसकेको अवस्था छन् । नुवाकोटमा मात्रै झण्डै दुई सय ईभी चल्न थालेका छन् । राजधानीबाट एकसय किलोमिटर परसम्मका शहरमा चल्ने ईभी गाडीको संख्या धेरै पुगिसकेको छ । जलविद्युतको धनी देश नेपाल र पछिल्ला समय यस क्षेत्रमा भएको विकासका कारण विद्युतीय सवारीसधान चल्नु हाम्रा लागि खुशीको कुरा हो । वार्षिक रुपमा हामीले पेट्रोलियम पदार्थमा मात्रै अरबौं रुपयाँ खर्च गर्दै आएका छौं । विद्युतीय सवारीसाधानलाई व्यवस्थित गर्न सकेको खण्डमा यसबाट हामीले अझ धेरै फाइदा लिन सकिने अवस्था बनदे गएको छ । यो हाम्रा लागि धेरै खुशीको कुरा हो ।
तर विद्युतीय यातायात सञ्चालनसँगै हामीले धेरै कुरा सिक्नुपर्ने देखिएको छ । दक्ष र प्राविधिक ज्ञान नहुँदा विद्युतीय सवारीसाधन दुर्घटना भइरहेका छन् । नुवाकोट जिल्लामा विद्युतीय गाडी चल्न थालेपछि धेरै दुर्घटना भएका छन् । केही दिनअघि मात्र चितवनको राप्ती नगरपालिका–४ मा असार ७ गते धनगढीबाट काँकरभिट्टा जान छुटेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरको हेटौँडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको विद्युतीय माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना हुँदा सात जनाले ज्यान गुमाए । २४ जना घाइते भए । यसअघि पनि यस्ता दुर्घटना नभएका होइनन् तर विद्युतीय गाडीबाट धेरै क्षति हुने देखिएको छ । एक प्रकारले भन्ने हो भने सर्वसाधारण समेत विद्युतीय गाडीप्रति विश्वस्त हुन छाडेका छन् । सामाजिक सञ्जालबाट त विद्युतीय गाडी बहिस्कार गर्नुपर्ने आवाज समेत उठ्न थालिसकेको छ । यो भन्नु भनेको यसप्रतिको विश्वास नहुनु हो ।
सडक सुरक्षाविज्ञहरुका अनुसार विद्युतीय सवारीसाधनमा खराबी भएर दुर्घटना हुने भन्दा पनि पेट्रोल र डिजेलका गाडी कुदाइरहेका चालकलाई प्रशिक्षण नदिई स्टेरिङ दिँदाको परिणाम मान्न सकिन्छ । मुख्य त चालकहरुले यस्ता सवारीसाधनबारे जानकारी राख्नुपर्दछ । कतिपय अवस्थामा चलाउन छानेको भरमा नै यसबारे जानकारी नराख्दा यस्ता घटना भएको हुनसक्छ ।
अर्कोतर्फ सडकमा लापर्बाहीपूर्ण तरिकाले चलाउने प्रवृत्तिका कारण पनि दुर्घटना हुने गरेका छन् ।
यस्तै सुरक्षा विज्ञहरुका अनुसार विद्युतीय सवारीसाधन द्रुत हुने र यसको क्षमता पनि बढी हुने हुनाले यो तीव्र गतिमा चल्ने गर्दछ । यसका लागि आवश्यक भनेको जनशक्ति दक्ष हुनुपर्दछ । तर त्यो नभई लाइसेन्स भएकाहरु सबै चालक बनेका कारण पनि यो समस्या आएको छ । तसर्थ यसको विकलप खोज्ने भन्दा पनि हामीले अबका दिनमा प्रयोग गर्ने भनेको विद्युतीय सवारीसाधन नै हो । यसबाट हामीले दोहोरो फाइदा लिन सकिन्छ । एकातवर्m पेट्रोल र डिजेलको वचत हुन्छ भने अर्कोतर्फ प्रदुषण कम हुन्छ । यसले गर्दा हामी यातायत क्षेत्रमा पनि इन्धनविना आत्मनिर्भर हुन सक्छौं ।
अहिले नै सबै पेट्रोल र डिजेलका गाडी विस्थापित हुने होइन, अब क्रमशः हामी त्यो बाटोमा जानै पर्दछ । तर त्यसका लागि मुख्य सर्त भनेको विद्युतीय सवारीसाधानबारे सञ्चालन अघि तालिम भने दिँदै पर्दछ । तब मात्रै यसबाट विश्वस्त हुन सकिन्छ र दुर्घटनाबाट यस्ता सवारीसधानलाई रोक्न सकिन्छ । यसतर्फ सम्बन्धित तहको ध्यान जानू जरुरी देखिन्छ ।