काठमाडौं, असार ८ — नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुरक्षात्मक कार्यक्रममा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपराधीझैँ व्यवहार गर्दै पक्राउ गरेको भन्दै कडा आपत्ति जनाएको छ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा पौडेलको गिरफ्तारीको निन्दा र भर्त्सना गर्दै यसलाई विपक्षी दलहरूमाथि भइरहेको राजनीतिक प्रतिशोध र दमनको निरन्तरता भएको उल्लेख गरिएको छ।
वक्तव्यमा एमालेले आफू सधैँ कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा उभिँदै आएको बताउँदै वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरेको असहिष्णु, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहारको पछिल्लो उदाहरणका रूपमा यो घटनालाई चित्रण गरेको छ।
एमालेका अनुसार उपाध्यक्ष पौडेल सुरक्षासम्बन्धी कार्यक्रम सकेर भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिकामा थिए। तर, सामान्य कानुनी प्रक्रिया अपनाउन सकिने अवस्था हुँदाहुँदै पक्राउ गरिएको भन्दै पार्टीले यसलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भनेको छ।
वक्तव्यमा सार्वजनिक पद धारण गरिसकेका र कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई “सस्तो स्टन्ट” र राजनीतिक खपतका लागि पक्राउ गरिएको आरोप लगाइएको छ। साथै, सरकारले विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिँदै लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्न आग्रह गरेको छ।
एमालेले सरकारको कथित स्वेच्छाचारी र लोकतन्त्रविरोधी गतिविधिविरुद्ध सबै देशभक्त, न्यायप्रेमी तथा लोकतान्त्रिक शक्तिलाई एकजुट भएर प्रतिवाद गर्नसमेत आह्वान गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्