विदुर । नेकपा एमाले नुवाकोटले आफ्ना एक सक्रिय, मिलनसार र लोकप्रिय युवा नेता गुमाएको छ।
एमाले नुवाकोट जिल्ला कमिटी सदस्य तथा विदुर नगरपालिका–१०, गेर्खुटार निवासी उद्धव खतिवडाले मंगलबार आत्महत्या गरेकाे खबरले पार्टी पंक्ति, शुभेच्छुक र स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट विदुर–१० को वडा अध्यक्ष पदका प्रत्याशी बनेका खतिवडा युवामाझ लोकप्रिय, सरल स्वभावका र संगठनप्रति समर्पित नेताका रूपमा परिचित थिए।
खतिवडाले यस्तो निर्णय किन र कुन परिस्थितिमा लिन पुगे भन्ने विषयले उनका सहयात्री, साथीभाइ तथा आफन्तजनलाई भावुक बनाएको छ। सामाजिक सञ्जालमा एमालेका नेता–कार्यकर्तादेखि सर्वसाधारणसम्मले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
नेकपा एमाले नुवाकोटले पनि शोक वक्तव्य जारी गर्दै खतिवडाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले उनको असमायिक निधनले संगठनले एक कर्मशील, सक्रिय र सम्भावनाशील युवा नेता गुमाएको जनाएको छ।
उता, उनका निकटस्थहरू भने सधैं हँसिलो, सहयोगी र सबैसँग सहज सम्बन्ध कायम गर्ने व्यक्तित्वका रूपमा खतिवडालाई सम्झिरहेका छन्। उनको निधनले परिवार मात्र होइन, राजनीतिक र सामाजिक क्षेत्रमै अपूरणीय क्षति पुगेको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्