विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले संसदीय दल, बिना सर्त रिहाइको माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ९, मंगलवार १९:२०

काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको पक्राउलाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण कदम भएको निष्कर्ष निकाल्दै उनको बिना सर्त रिहाइको माग गरेको छ।


मंगलबार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकपछि एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको कदम कानुनी राज्यको मर्मविपरीत रहेको बताएका हुन्।


उनले पौडेलसँग व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) रहेको, काठमाडौं आउने जानकारी सम्बन्धित निकायलाई हुँदाहुँदै पनि रातारात सार्वजनिक माध्यमबाट काठमाडौं ल्याइएको भन्दै त्यसप्रति संसदीय दलले घोर भर्त्सना गरेको बताए।
‘पार्टी उपाध्यक्षलाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो। उहाँसँग पीएसओ छ, काठमाडौं आउने कुरा थाहा हुँदाहुँदै रातारात सार्वजनिक माध्यमबाट काठमाडौं ल्याइयो। संसदीय दलले यसको घोर भर्त्सना गर्दै बिना सर्त रिहाइको माग गरेको छ,’ महरले भने।


बैठकले रास्वपा नेतृत्वको सरकार तानाशाही र अधिनायकवादी बाटोमा अघि बढिरहेको आरोप पनि लगाएको छ। महरले सरकारको नीति राष्ट्रहितविपरीत देखिएको दाबी गर्दै यस्ता गतिविधिविरुद्ध एमाले संसद्भित्र सशक्त रूपमा उत्रिने चेतावनी दिए।


उनले सरकारले मुलुकमा आतंक सिर्जना गरेको र अहिले कुनै पनि तह र तप्काका नागरिक सुरक्षित महसुस गर्न नसक्ने अवस्था बनेको आरोप लगाए। साथै, महँगी र मूल्यवृद्धि आकाशिएको भन्दै सरकार जनजीविकाका सवालमा पनि असफल भएको टिप्पणी गरे।
एमाले संसदीय दलले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारको रक्षा गर्न सरकारलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *