
शुकदेव दाहाल
प्रमुख सत्तारढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनु भएको जानकारी अनुसार हाल जारी बैठकमा बैठकमा विभिन्न १३ ओटा एजेण्डामा छलफल चलिरहेको छ ।
पहिलो दिन पार्टी सभापति शेरबहादुर देउवाले बैठकको औपचारिक रुपमा सुरुवात गरेसँगै महामन्त्री गगन थापाले पार्टीको एजेण्डा प्रस्तुत गर्नुभएको थियो । बैठकमा पेश भएका १३ एजेण्डा अनुसार १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।
बैठकमा शुभेच्छुक संस्थाबारे छलफल, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने र सरकारमा पार्टी भूमिकाका विषयमा छलफल चलिरहेको छ । कांग्रेसमा अलि लामै समयपछि केन्द्रीय समितिको बैठक बस्ने गरेको छ । धेरै निर्णयहरु कार्यसम्पाद समिति वा पदाधिकारीले गर्ने र त्यसलाई अनुमोदन गर्नका लागि केन्द्रीय समितिको बैठक बस्ने गरेको छ । यस पटक मुख्य रुपमा केन्द्रीय समितिको बैठकमा पार्टीको क्रियाशिल सदस्य नविकरण,सरकारमा पार्टीको भूमिका र भातृ संस्थाको म्याद थपका विषयमा बढि छलफल हुने देखिएको छ ।
पार्टीका संस्थापनइतर समूहले यो बैठकलाई पार्टीको भातृ संस्थमा देखिएको अन्योलताका विषयमा प्रश्न उठाउने उठाएका छन् । त्यसमा पनि पार्टी कार्यालय परिषरमा विरोध स्वरुप कालो पोशाकमा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अधिवेशनका लागि विद्यार्थी तथा युवाहरुले दवाव दिएका छन् । कांग्रेस संगठनको मुख्य नर्सरी भनेको विद्यार्थी संगठन नै हो । जसलाई कांग्रेसले नेपाल विद्यार्थी संघको रुपम परिभाषित गरेको छ ।
नेपाल विद्यार्थी संघको अधिवशेन हरेक दुई दुई वर्षमा हुने विधानमा व्यवस्था भएपनि संगठनभित्रको आन्तरिक किचलो र पार्टी नेतृत्वले आफ्ना मान्छे भर्ती गर्ने मनसाय राख्दा अधिवशेन हुन सकेको छैन । यो विगतमा पनि थियो तर अहिले यो समय धेरै लम्बिदै गएको छ । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका सभापति देउवा नै यतिखेर पार्टीको सर्वोच्च तहमा हुनुहुन्छ तर उहाँको चासो विना भातृ संस्थाको महाधिवेशन सम्भव छैन । देउवासँगै पार्टीमा ६० र ४० को भाग खोज्ने प्रवृतिका कारण पनि समस्या हुँदे आएको छ । निर्वाचित नेतृत्वले काम गर्ने भन्दा पनि भाग मिलाउनमा नै समय खर्च गर्नुपर्ने कारण संगठन अस्तव्यस्त बन्दै गएको छ ।
अर्कोतर्फ भातृ संस्थाको महाधिवेशन हुन नसक्दा तल्लो तहमा युवाहरुमा नेपाल विद्यार्थी संघप्रति त्यति धेरै उत्साह देखिदैन । जसका कारण युवाहरुको मत कांग्रेसले पाउने अवस्था कमजोर बन्दै गएको छ । नेविसंघ मात्रै होइन कांग्रेसले आफ्ना कुनै पनि भातृ संस्था वा शुभेच्छुक संस्थाको अधिवेशन गराउन सकेको छैन । यसले कांग्रेसमा अस्तव्यस्तता छ । त्यतिमात्रै होइन पार्टीकै विभागले समेत पूर्णता पाउन सकेको अवस्था छैन ।
महाधिवेशन भएको ६ महिनामा पूरा गरिसक्नु पर्ने कार्य समेत नहुँदा कांग्रेसप्रतिको जनविश्वास कमजोर बननु स्वभाविक नै हो । पार्टी नेतृत्वले आफ्ना सबै संस्थालाई चुस्त र दुरुस्त राख्न सके नेता कार्यकर्ताले पनि काम पाउँछन् र त्यो पार्टी जनतासम्म पुग्न सक्दछ । तर कांग्रेस मात्रै होइन देशका अन्य राजनीतिक दलको पनि यस्तै हविगत भएका कारण जनता यतिखेर नयाँ रुपमा उदाएका तर नीति शिद्धान्त र विचार नभएका दलहरुप्रति आशाको किरण देख्न थालेका छन् ।
यस्तो अवस्थामा सत्तामा रहेको र मुलुकको सबैभन्दा पूरानो र लोकतान्त्रिक पार्टी कांग्रेसको केन्द्रीय समितिको हाल जारी बैठकले कमसेकम भातृ संसथाहरुको म्याद थप गरेर टिका लगाउने प्रवृतिको अन्त्य गर्नु जरुरी छ । कांग्रेसले पार्टीको महाधिवेशन भन्दा अगाडि नै भातृ संस्थाहरुको महाधिवेशन गरेर सम्पुर्ण तहमा उर्जा थप गर्न सकेको खण्डमा मात्रै कांग्रेस बलियो हुने देखिन्छ । नत्र अब कांग्रेसलाई पनि नागरिकले भीरमा गएको गाईलाई ,राम राम,भनेजस्तै भन्नुपर्ने दिन आउन सक्छ । चेतान भयाँ ।