
काठमाडौं, १८ असार । प्रमुख सत्तारुढ दलको जारी केन्द्रीय समितिको बैठकले पार्टीको भातृ संस्थाको रुपमा रहेको नेपाल तरूण दलको महाधिवेशन २०८२ मंसिर २६—२८ मा अनिवार्य गर्नेगरि पदावधि थप गर्ने निर्णय गरेको छ ।
आज बुधबार पार्टी कार्यालय सानेपमामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप मंसिरमा अनिवार्य महाधिवेशन सम्पन्न गर्न त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको हो ।
तरुण दलको महाधिवेशन तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरेको छ ।
अनिवार्य महाधिवेशन गर्नेगरि मिति तोकिएपछि तदर्थ समिति भंग गर्नुपर्ने भन्दै अनसनमा बसेका तरूण दलका दुई जना केन्द्रीय सदस्यले अनसन समेत तोडेका छन् । त्यस्तै बैठकमा बिभिन्न एजेण्डामाथि प्रदेश सभापतिहरुले धारणा राखेका छन् । बैठक असार १९ गते पुन बस्ने बताइएको छ ।