
धादिङ, असार १९ – लगातारको वर्षाका कारण धादिङको थाक्रे गाउँपालिका–२ कमेरे भीरस्थित पृथ्वीलोकमार्गमा आज साँझ पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। मंगलबार साँझ करिब ६:३५ बजेको समयमा पहिरो खसेको र त्यसले गर्दा बाटो दुबैतर्फबाट बन्द भएको अस्थायी प्रहरी पोष्ट सिम्लेले जनाएको छ।
पहिरोका कारण सवारीसाधनको आवागमन रोकिएको छ भने करिब ५०० मिटर क्षेत्रमा गाडीहरूको चाप देखिएको छ। घटनापछि अस्थायी प्रहरी पोष्ट सिम्लेबाट प्रहरी निरीक्षक अमित कुमार सिंहको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको छ।
सुरक्षाका लागि सवारीसाधनहरूलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ। उद्धार तथा सडक खुलाउने कार्यका लागि आवश्यक पहल भइरहेको जनाइएको छ। सवारीसाधन चालक र यात्रुहरूलाई सतर्कता अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।