
विद्यालयमा आयोजित कार्यक्रममा सम्मान विद्यार्थीसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाइराम नेपाल, विद्यालयका प्रधानाध्यापक हरिवंश घिमिरे,शिक्षक तथा एसईईमा उत्रीर्ण भएका विद्यार्थीहरु,तस्बिर सौजन्य ः महादेव मावि रातमाटे
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ७ रातमाटेमा रहेको महादेव माध्यमिक विद्यालयले एसईईमा बेलकोटगढीबाट नै सबैभन्दा बढि जिपिए ल्याउने आफ्नो विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
बेलकोटगढी वडा नं ७ का वडा अध्यक्ष भुवनेश्वर नेपालको प्रमुख आतिथ्यतामा विद्यालयमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष नेपाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाइराम नेपाल र विद्यालयका प्रधानाध्यापक हरिवंश घिमिरेले सम्मान गर्नुभएको हो । उक्त विद्यालयबाट एसइई परीक्षामा ४६ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमा कविशा रिमालले सबैभन्दा बढि जिपिए ल्याएकी छिन् । उनी ३.९२ जिपिएकासाथ बेलकोटगढीबाट सबैभन्दा बढि जिपिए ल्याउने विद्यार्थीमा परेकी छिन् । कविशा सहितका विद्यार्थीले प्राप्त गरेको जिपिए ४ जिपिएका लागि केही मात्रै कम हो । नुवाकोट जिल्लाबाट अन्य ४ जनाले ४ जिपिए ल्याएका छन् ।

यस्तै महादेव माविका अन्य ४ जनाले पनि नगरपालिकामा सबैभन्दा बढि जिपिए ल्याएका छन् । महादेव माविकै विपास्ना दाहालले ३.८६ जिपिएकासाथ नगरपालिकामा द्धितिय बनेकी छिन् । यस्तै हरिशरण न्यौपाने,निर्देश नेपाल र कृतना लामिछानेले समान जिपिए ३.८३ कासाथ बेलकोटगढीमा उत्कृष्ट तेस्रोमा परेका छन् । यस्तै सोही विद्यालयबाट इशान नेपालले ३.७४, र क्षेमो तामाड.ले ३.७१ जिपिए प्राप्त गरेका छन् । उक्त विद्यालयबाट ४६ जना विद्यार्थीले परीक्षा दिएकोमा ३६ जना उत्र्तीर्ण अर्थात ,ग्रेडेड, भएका छन् भने १० जनाको एनजी अर्थात ,ननग्रेडेड,आएको छ । विद्यार्थीले प्राप्त गरेको उत्कृष्ट पाँच जानको नतिजालाई हेर्दा जिल्लाको पहिलो भएको पृथ्वी मावि पछिको भएको विद्यालयले जनाएको छ ।
बेलकोटगढीमा रहेका १९ विद्यालयमध्ये विद्यार्थीको उत्र्तीर्ण संख्याको हिसावले महादेव माविले छैटौं स्थान हासिल गरेको छ । तर पाँच जना विद्यार्थीले प्राप्त गरेको जिपिए बेलकोटगढीकै उत्कृष्ट हो । विद्यालयकी छात्रा कविशा सहित उत्कृष्ट पाँच जना महादेव माविकै रहेको विद्यालयले जनाएको छ । सोही अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै प्रमुख अतिथि नेपालले विद्यार्थीको लगनशीलता, शिक्षकको अथक परिश्रम र सरोकारवालाहरुको विशेष निग्रानी र सहयोगबाट मात्र शैक्षिक उपलब्धी हासिल गर्न सकिने भन्दै समग्र विद्यालय परिवार र विद्यार्थीको उच्च सम्मान एवम् प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष नेपालले एसईईमा उत्कृष्ट विद्यार्थीहरुलाई बधाई दिँदै सफल भविष्यको कामना गर्नुभयो । उहाँले गाउँमा नै बसेर गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय तयार रहेको भन्दै कक्षा ११ मा पनि यहि रहेर अध्ययन गर्न आग्रह गर्नुभयो । प्रधानाध्यापक घिमिरेले उत्कृष्ट नतिजाका लागि विद्यार्थीहरुलाई बधाई दिँदै आगामी दिनको उच्च सफलताका लागि शुभकामना प्रदान गर्नुभयो ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई सम्मानपछि सामूहिक तस्बिर खिचाउँदै विद्यार्थीहरु,तस्बिर सौजन्य ः महादेव मावि
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावकहरु र विद्यार्थीहरुको मेहनतका कारण सम्भव भएको भन्दै परिणामका लागि सबैलाई धन्यवाद प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई मायाको चिनोसहित खादाले सम्मान गरिएको थियो । नुवाकोट जिल्लाको उत्कृष्ट विद्यालयहरुमध्येमा पर्दै आएको महादेव माविमा हाल ६ सय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा बसको सुविधा समेत भएकाले बेलकोटगढीकै वडा नं ७,८,९,५ सहित तारकेश्वर गाउँपालिका र धादिड.बाट समेत अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् ।
यस्तै सम्पूर्ण सुविधासहित छात्रबासको व्यवस्थासहित विद्यालयले कक्षा ११ मा विज्ञान विषयको कक्षा समेत सञ्चालन गर्दै आएको छ । गत वर्ष विद्यार्थीको अभावका कारण कक्षा सञ्चालनमा बाधा भएपनि यसवर्ष सञ्चालन गर्ने तयारीमा रहेको विद्यालयका प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।