
हेटौडा । बागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले आर्थिक वर्ष २०७९। ०८० का लागि बजेट बक्तव्य सार्र्वजनिक गर्नुभएको छ । बजेटमा कृषि क्षेत्रको विकासका लागि विशेष जोड दिइएको छ । कृषकलाई कृषि परिचयपत्र वितरण गरिने उल्लेख गरिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा करिब ८ अर्ब घटाएर बजेट सार्वजनिक गरिएको छ । कुल विनियोजन मध्ये चालु तर्फ रु २६ अर्व ७० करोड २७ लाख ६९ हजार रुपैयाँको बजेट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा तामाङले प्रस्तुत गरे । पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरिएको छ । कुल विनियोजन मध्ये चालु तर्फ ४२ दशमलब ५८ प्रतिशत, पुँजीगत तर्फ ५६ दशमलब ६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ० दशमलब ८ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्व २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्रातिबाट १४ अर्व ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको छ । त्यस्तै बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयको लागि ४ अर्ब रुपैयाँ बजेट बिनियोजित गरिएको छ ।जनता आवास कार्यक्रमलाई आउँदो आर्थिक वर्षमा पनि बजेट छुट्याइएको छ ।बागमती प्रदेश सरकारले स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
प्रदेश सरकारले आगामी आवमा समानीकरण अनुदान वापत प्रदेशका ११३ स्थानीय तहमा १ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याएको गरेको मन्त्री लामाले बताए ।प्रदेश सरकारले स्थानीय तहका लागि सशर्त अनुदान तर्फ २ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ २ अर्ब ३५ करोड ७ लाख र विशेष अनुदान तर्फ ७३ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ ।
सरकारले आगमी सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा मनाउने भएको छ ।त्यस्तै अलपत्र रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन गरेको हो । बागमती प्रदेशमा कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रुपमा अगाडी बढाइने भएको छ ।
पशुपन्छी तथा कृषिका लागि ३ अर्व बजेट छुट्टयाइएको छ । आगामी आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा प्रराङ्गीक मल कारखानाको लागि ५ करोड रुपैँया विनियोजन गरेको छ । त्यस्तै आगामी आर्थिक वर्षमा सरकारले प्रदेश भित्र कृषक परिचयपत्र लागु गर्ने बताएको छ ।सरकारले अर्थतन्त्रको वर्तमान अवस्थालाई मध्यनजर गरी प्रदेशका अधिकार क्षेत्रभित्रका अधिकांश करका दरहरू यथावत् राखिएको जनाएको छ ।
यस्तै बजेटमा नुवाकोट जिल्लाका धार्मिक स्थलहरु तथा पर्यटकीय स्थलहरुको विकासका लागि समेत बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । नुवाकोट जिल्लाको धार्मिक स्थल, नुवाकोट दरबार,नौ कोट, दुप्चेश्वर महादेव मन्दिर,भैरवी मन्दिर, चिम्टेश्वर, रसुवाको गोसाईकुण्ड लगायतका क्षेत्रहरुको विकासका लागि प्रदेश सरकारको कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै बजेटमा खर्च कटौतीलाई पनि प्राथमिकतामा राखिएको छ ।
नयाँ दरबन्दी सिर्जना नगरिने, भत्ताहरु कटौती गरिने, गाडी खरिद नगर्ने लगायतका विषयलाई सरकारले जोडतोडकासाथ उठाएको छ । यस्तै बजेटामा विश्वविद्यालय स्थापना गर्ने बताएको छ । यसका लागि सम्भाव्यता अध्यनका लागि ५ करोड बजेट बिनियोजन गरिएको छ । बागमती प्रदेशमा तत्काल उद्दार गर्नुपर्ने सुत्केरी महिलाका लागि सरकारले निशुल्क हवाई सेवाको व्यवस्था गर्ने बजेटमा उल्लेख गरिएको छ ।
स्रोत ः आर्थिक मामिला तथा योजना मन्त्रालय