
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई जिल्ला अदालत, काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी,सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईसहित १६ जनालाई प्रहरी यसअघि पक्राउ गरी अनुसन्धान थालेको थियो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । पूर्व मन्त्रीद्धयको पक्षमा बहस गर्ने वकिलहरुको लर्को लागेपनि अदालतले अनुसन्धानलाई प्रभावित हुने भन्दै आरोपीतहरुलाई पुर्पक्षमा राखेर नै मुद्दाको किनारा लगाउने निर्णय सुनाइएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर झण्डै ९ सयलाई अमेरिका पठाएको अनुमान गरिएको छ ।