
विदुर । गाउँ गाउँमा सिंहदरबार भन्ने नारालाई चरितार्थ हुँदै आएको छ । जनप्रतिनिधिहरुले आफ्नो पालिका तथा वडा पिच्छे फरक फरक निर्णय गरेर जनताको मन जित्ने प्रयास गरिरहेका छन् । यसै क्रममा विदुर नगरपालिका वडा नं .५ ले आफ्नो वडाभित्र जन्मेका बच्चालाई पाँच हजार सहयोग गर्ने भएको छ ।
वडाअध्यक्ष लिलानाथ न्यौपानेले आफ्नो फेसबुक पेज मार्फत वडाभित्र बच्चा जन्मने वित्तिकै उक्त बच्चाको नाममा खाता खोल्न लगाई वडाको तर्फबाट ५ हजार रुपैयाँ जम्मा गरिदिने कार्यको थालनी गर्न लागिएको जानकारी दिनुभएको छ । उहाका अनुसार उक्त कार्यक्रम आर्थिक वर्ष २०८०।०८१ बाट सुरु हुनेछ ।
यस्तै वडाले आफूले पाँच हजार दिने र बच्चाको अभिभावकले तथ पाँच हजार थपेर १० हजार रुपयाँ जम्मा गरेर खाता खोल्ने व्यवस्था गर्ने समेत जानकारी गराउनु भएको छ । यस्तै पाँच हजार थप गर्न नसक्ने अभिभावकको आर्थिक अवस्था हेरेर वडा कार्यलयले नै सहयोग गर्ने समेत उल्लेख गर्नुभएको छ । वडा अध्यक्षको यो नयाँ कार्यक्रमप्रति वडाबासीले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।