काठमाडौं : प्रतिनिधिसभाको शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक स्थगित गरेका हुन्।
अब प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने गरी समय निर्धारण गरिएको सचिवालयले जनाएको छ। यसअघि बिहीबारका लागि बोलाइएको बैठक पनि विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको थियो।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश सांसद पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेकाले संसद् बैठक प्रभावित भएको बताइएको छ।
आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गर्ने कार्यसूची रहेको थियो।
त्यसैगरी सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि छलफल गर्ने कार्यसूची पनि थियो।
यस्तै आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम तय गरिएको थियो। साथै राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफाबार छलफल, संशोधनमाथि निर्णय र विधेयक पारित गर्ने कार्यसूचीसमेत बैठक स्थगित भएसँगै प्रभावित भएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्