नुवाकोट, असार १२ – बेलकोटगढी नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत लेखापालहरूले आफ्नो पारिश्रमिक तथा सेवा–सुविधा वृद्धि गर्न माग गर्दै नगरपालिकासमक्ष सामूहिक निवेदन पेश गरेका छन्।
नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख तथा लेखा शाखा प्रमुखलाई सम्बोधन गर्दै पेश गरिएको निवेदनमा विद्यालयको आर्थिक प्रशासनलाई पारदर्शी, व्यवस्थित र दोहोरो लेखा प्रणाली (Double Entry System) अनुसार सञ्चालन गर्ने जिम्मेवारी आफूहरूले निर्वाह गरिरहेको उल्लेख गरिएको छ।
लेखापालहरूले आफूहरू न्यूनतम शैक्षिक योग्यता, अनिवार्य कम्प्युटर ज्ञान तथा प्राविधिक दक्षतासहित कार्यरत रहेको जनाउँदै विद्यालयको नियमित लेखा व्यवस्थापनसँगै विभिन्न अतिरिक्त जिम्मेवारीसमेत सम्हाल्दै आएको बताएका छन्।
निवेदनअनुसार लेखापालहरूले नियमित रूपमा EMIS (Educational Management Information System) अद्यावधिक गर्ने, विद्यालयको वार्षिक बजेट तथा आर्थिक योजना निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने, विद्यालय सुधार योजना (SIP) निर्माण तथा कार्यान्वयनमा सहयोग गर्ने, विद्यार्थीको दर्ता, परीक्षा फाराम, अनलाइन विवरण व्यवस्थापन गर्ने, सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक समन्वय गर्ने, विद्यालयका सम्पूर्ण प्राविधिक तथा अनलाइन प्रणाली सञ्चालन गर्ने तथा आवश्यकता अनुसार शिक्षण कार्यसमेत गर्दै आएका छन्।
त्यसैगरी बिहान, बेलुका तथा सार्वजनिक बिदाका दिनसमेत विद्यालयको काममा खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनीहरूले आफ्नो कार्यक्षेत्र निरन्तर विस्तार हुँदै गएको बताएका छन्।
हाल आफूहरूले प्रदेश सरकारबाट मासिक रु. १५,००० र बेलकोटगढी नगरपालिकाबाट थप रु. १,५०० गरी जम्मा रु. १६,५०० मासिक पारिश्रमिक मात्र प्राप्त गरिरहेको निवेदनमा उल्लेख छ। उक्त पारिश्रमिक नेपाल सरकारले तोकेको न्यूनतम ज्यालाभन्दा समेत कम रहेको तथा बढ्दो महँगी र जीवनयापन खर्चका कारण दैनिक गुजारा गर्न कठिनाइ भएको उनीहरूको भनाइ छ।
लेखापालहरूले आफ्नो कार्यबोझ, अतिरिक्त समयको योगदान, व्यावसायिक जिम्मेवारी तथा वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै श्रमको उचित मूल्याङ्कन हुने गरी पारिश्रमिक तथा सेवा–सुविधा वृद्धि गर्न बेलकोटगढी नगरपालिकासँग आग्रह गरेका छन्।
उक्त निवेदन बेलकोटगढी नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण लेखापालहरूको संयुक्त हस्ताक्षरसहित पेश गरिएको हो।उनीहरुले आफूहरुकाे मागलाई नगरपालिका वेवास्था गरेकाे भन्दै असन्तुष्टि समेत जनाएका छन् ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्