
११ साउन, काठमाडौं । बढ्दो खडेरीका कारण फेरि लोडसेडिङ सुरु भएको छ । अतयभिधक गर्मी हुने चितवनका केही क्षेत्रमा आजदेखि लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले जनाएको छ ।
केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ । वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी(माडी, मेघौली(विजयनगर(शुक्रनगर र जगतपुर – रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो ।
वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ र ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ । तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ ।यद्यपि पानी पर्ना थाल्नासाथ लोडसेडिङ अन्त्य हुने बताइएको छ ।
यस्तो छ लोडसेडिङ तालिका
१ नारायणी – माडी फिडरहरूः बिहान ६.०० देखि ९.०० र दिउँसो ३.०० देखि ६.०० बजेसम्म ।
२ मेघौली – विजयनगर–शुक्रनगर फिडरहरू बिहान ९.०० देखि १२.०० र बेलुका ६.०० देखि ९.०० बजेसम्म ।
३ जगतपुर –रामपुर फिडरहरू दिउँसो १२.०० देखि ३.०० र बेलुका ९.०० देखि १२.०० बजेसम्म ।