
काठमाडौँ — अमेरिकी सरकारले झण्डै ५५ करोड अमेरिकी डरलको सहयतामा सञचालित कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित सबै कार्यक्रमले निरन्तरता पाएको छ । अमेरिकी सरकारले गत साता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) लाई निर्वाध रुपमा सञ्चालन गर्न अनुमित दिने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ र हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौं,’ अमेरिकी दूतावासले भनेको छ, ‘५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछ ।’
अमेरिकाको राष्ट्रपति डोनल्ड ट्रम्प निर्वाचित भएसँगै ९० दिनका लागि यस्ता सहयोगका कार्यक्रम स्थगित गरिएको थियो । त्यसको एक महिनापछि अमेरिकाले फेरि विद्युतलाइन विस्तारका कार्यक्रमलाई मात्र निरन्तरतादिन स्वीकृत प्रदान गरेको थियो । तर अब भने एमसीसीका सबै कार्यक्रम सञ्चालनमा आउने छन् । उक्त कार्यक्रम अनुसार नुवाकोटको रातमाटेसहित तीन स्थानमा ४२० केभी प्रसारण लाइनका लागि शव स्टेशन निर्माण हुनेछ ।
यस्तै उक्त परियोजनाकै कार्यक्रम अनुसार सडकको स्तरोन्त्तरीका कार्यक्रम पनि समावेश छ । सन् २०१७ मा नेपाल र अमेरिकाले हस्ताक्षर गरेको एमसीसी कम्प्याक्टलाई नेपालको प्रतिनिधिसभाले सन् २०२२ मा अनुमोदन गरेको थियो ।