
काठमाडौं । पवित्र धार्मिक तथा ऐतिहासिकस्थल रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको छ ।
बेपत्ता हुनेमा मोरङका मनोज न्यौपाने र सुजन ढकाल छन् । उनीहरू आइतबार दिउँसो गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी रसुवाले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज तथा अन्य सुरक्षा निकाय समेत संयुक्त रूपमा बेपत्ताहरूको खोजीकार्यका लागि परिचालन गरिएको जनाइएको छ ।